काठमाडौं २५ असोज ।
नेपाली कांग्रेसका खोटाङ जिल्ला सभापति नरेश कुमार श्रेष्ठ र खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईबीच नेपालीहरुको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नै दोहोरी चलेको छ ।

सभापति राईले शुभकामना मन्तव्य दिने क्रममा खोटाङ सेवा समाजमाथि गम्भीर प्रश्न उठाएपछि प्रतिवाद र प्रतिउत्तर दिने क्रममा दुईबीच दोहारी चलेको हो ।

सभापति श्रेष्ठले समाज विधान अनुसार नचलेको, काम गर्न नसकेको, अधिवेशन नै नगरेको र खल्तीका मान्छेलाई सदस्यता दिँदै हिडेको आरोप लगाए । अध्यक्ष राईले पनि जातीय संघ संस्था त एकलौटी नचल्ने भन्दै कार्यक्रमा प्रतिवाद गरे ।

खोटाङ सेवा समाजसहित रावासावा प्राज्ञिक समाज नेपाल र खोटाङ हलेसी सेवा समाजको संयुक्त आयोजनामा बुधबार (२४ असोज) काठमाडौंमा दशैं, तिहार, छठ, ल्होसार लगायत पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा श्रेष्ठले आयोजक संस्था समाजमाथि पटक पटक प्रश्न उठाए ।

कार्यक्रम सञ्चालकले शुभकामना मन्तव्यका लागि उनलाई स्टेजपछि आमन्त्रण गरेपछि शुभकामना मन्तव्य सुरु गरेका उनले सुरुमै खोटाङ सेवा समाज चाहुरिदैं गएको आरोप लगाए ।

लगत्तै श्रेष्ठले घुमाउरो भाषामा समाजले पक्षापाती व्यवहार गरेको आरोप लगाए । ‘समाजले सहयोग गरिरहेको देखेको छु, तर सबैको घर घरमा पुगेर सबैलाई सहयोग गर्न सकेको छैन ।’ उनले प्रश्न समेत गरे, ‘यसले यो संस्था सबैको हो भन्ने भावना त जगाउन नसकेको त हैन ?’

मन्तव्यको सुरुदेखि नै समाजप्रति खनिएका श्रेष्ठले समाजको वैधानिकताको प्रश्न समेत उठाए । ‘यसको अधिवेशन कहिले भयो, मलाई थाहा छैन’ विधानमा के छ, विधान अनुसार चलेको छ कि छैन ? विधान अनुसार चल्नुपर्छ, कहिल्यै अधिवेशन पनि नगर्ने, सबैलाई सदस्यता पनि नबाड्ने बाँडी हाले पनि खल्तीका मान्छेलाई रसिद कटाउने, यो कहिले पुग्छ सबैको घर घरमा ?’ उनले प्रश्न गरे ।

सभापति श्रेष्ठले कार्यक्रममा उपस्थित कम भएकोतिर लक्षित गर्दै समाज सबैको घर घरमा पुगेको भए कार्यक्रमको हलमा उपस्थित भन्दा तेब्बर चौबर मान्छे बढी हुने समेत जनाए ।
नेपाल सरकारका पूर्व सचिव माधव रेग्मीले शुभकामना मन्तव्यका क्रममा समाजले अधिवेशन गर्नुपर्नेमा जोड दिए । ‘संस्थाको विधान के हो भनेर प्रश्न उठ्यो, विधान परिवर्तन गर्न परे साधारण सभाबाट गरौं, नेतृत्व निरन्तरता दिने भएपनि साधारण सभाबाटै गरौं ।’ उनले भने ।

नेपाल सरकारकै अर्का पूर्वसचिव घनश्याम ओझाले भने समाजको बचाउ गरे । ‘मेरै घरमा विधान ड्राफ्ट भएको हो, यस्तो संस्था चलाउनु सामान्य कुरा होइन, संस्था बचाएर ल्याउनु भएको छ म मुरी मुरी धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रमको समापन मन्तव्यका क्रमका समाजका अध्यक्ष राकेश राईले कांग्रेस सभापतिलाई संस्था एकलौटी चलेको छ कि भन्ने लागेको भए त्यो गलत भएको जवाफ फर्काए । ‘कांग्रेस सभापतिलाई लागेको होला संस्था एकलौटी चलेको छ कि भन्ने, जातीय संस्था र अरु संस्था पनि एकलौटी चल्दैन, यो पनि त्यस्तो छैन ।’ उनले भने ।
उनले अघिल्लो वर्ष अधिवेशन गर्ने तयारी गर्दा स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा सबै जिल्ला गएकाले नभएको, भदौमा गर्ने तयारी गर्दा आफू युरोप गएकोले हुन नसकेको बताए । उनले केही दिन अघि अधिवेशन गरौं भन्दा सोह« श्राद्ध छ भनेपछि नभएको समेत उल्लेख गरे ।

संस्थामाथि निक्कै प्रश्न उठेपछि उनले आफूले पोहोर साल नै मैले सके भनेर हिडेको तर बस्नुपर्छ भनेपछि मात्र बसेको जनाए । आरोपको खण्डन गर्दै उनले सामाजिक संस्थाबाट केही पनि नपाएको र चलाउन सहज पनि नभएको समेत उल्लेख गरे । ‘सामाजिक काम गर्न त्यति सहज छैन, यहाँ पाउनुपर्ने भन्ने पनि केही छैन मञ्च पाइयो त्यति हो ।’ उनले भने ।