खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिल गरिएको छ । नगरपालिकाको–१ नम्बर वडामा पर्ने दिक्तेलबजारका ५४ वर्षीय राजभण्डारी थरका पुरुषको बिहिबार राती मृत्यु भएपछि नगरपालिका सिल गरिएको हो ।
अर्को निर्णय नभएसम्मका लागि शुक्रबारदेखि नगरपालिकाभित्र प्रवेश गर्न वा बाहिरिन रोक लगाइएको छ । १५ वडा रहेको नगरपालिकामा एक वडाबाट अर्को वडाबाट आउजाउ गर्न समेत रोक लगाइएको मेयर दिपनारायण रिजालले बताउनुभयो ।
कोरोनाको महामारी बढिरहँदा पनि आवतजावत नरोकिएकाले ‘कफ्र्यू’भन्दा कडा गर्ने तयारी भइरहेको मेयर रिजालको भनाई छ ।
महामारी फैलिरहेको अवस्थामा दिक्तेलबजारकै कतिपय चोक तथा पसलमा भिडभाड लाग्ने गरेको थियो ।
संक्रमण फैलिन थालेपछि यसअघि नै जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकाको सिमा नाका सिल गरिसकिएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि राजभण्डारीलाई बिहिबार राती अस्पताल लगिएको थियो । अस्पताल पु¥याएर एन्टीजेन परीक्षण गर्दा उनलाई कोरोनाको संक्रमण पूष्टि भएको थियो ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि ऐसेलुखर्क गाउँपालिकाका एक वृद्धको मृत्यु भएको थियो ।
जिल्लामा कुल ३ सय ३६ संक्रमितमध्ये २३ जना निको भईसकेका छन् ।