खोटाङ जेठ–२, वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित खोटाङका चार जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिश्वकर्मालाई प्रहरीले वन्यजन्तुको अंग र भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले चारै जनालाई शनिबार राती १० बजे राजापानीबाटै पक्राउ गरेको हो । डम्बरबहादुरको साथबाट एक थान भरुवा बन्दुक, मृगको टाउकोको अगाडि पट्टीको भाग, सालकको ४ सय ८० ग्राम खपटा, बारुद बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो ।

यस्तै, द्रोणको साथबाट लोड गरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, रबिन्द्रको घरबाट लोड गरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद तथा कृष्णको घरबाट भरुवा बन्दुकको ५ थान नाल, बनाउन लागेको बन्दुकको एक थान बट र बन्दुक बनाउन प्रयोग हुने औजारहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जना बिरुद्द हातहतियार तथा खरखजना सम्वन्धी कसुरको मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक गजमेरले सुनाउनुभयो ।।