
२०७८ बैशाख ३० खोटाङ,
खोटाङमा बैशाख २९ सम्ममा ७७ जनामा कोभिड–१९ संक्रमण पूष्टी भएको छ । बुधबार मात्र रावाबेँसी गाउँपालिकामा ५ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ गरी ९ जनालाई संक्रमण पूष्टी भएको हो ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ७ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा २ जना सक्रिय संक्रमित पाईएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये ४ जना भने अन्यत्र संक्रमण पूष्टि भएपछि नगर भित्रिएका हुन् । संक्रमितमध्ये अधिकांश होमआइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताउनुभयो ।
यसैबीच, कोभिड–१९ बाट संक्रमित एक जना बिरामी निको भएका छन् । गत बैसाख २१ गते कोभिड–१९ बाट संक्रमण पूष्टी भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४७ वर्षका पुरुषले कोरोना जितेका हुन् ।
संक्रमण पूष्टी भएसँगै जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचारमा राखिएका संक्रमितले आठ दिनमै कोरोना जितेका हुन् । बैशाख २९ गते गरिएको एन्टीजेन परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेको भनाई छ ।
दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ । संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ ।
जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।