खोटाङ बैशाख–२१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकै दिन ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार दिउँसो दुई जनामा पुष्टी भएको केही समयपछि थप दुई जनालाई कोरोना संक्रमण भएको पाईएको हो ।

ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई पछिल्लो समय कोरोना संक्रमण पूष्टी भएको हो । औषधि दिँदा पनि ज्वरोको मात्रा नघटेपछि गरिएको एन्टीजेन परीक्षणमा दम्पत्तीलाई कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बैभव मल्लिकले बताउनुभयो ।

श्रीमान बिरामी भएपछि कुरुवाका रुपमा आएकी श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको हो । लक्षणका आधारमा शंका लागेपछि एन्टीजेन परीक्षण गर्दा संक्रमण पाईएको डाक्टर मल्लिकको भनाई छ । दम्पत्ती हालसम्म गाउँबाट कतै नगएको र ट्राभल हिस्ट्री समेत नहुनुले कोरोनाको महामारी गाउँ–गाउँमा पुगेको संकेत गरेको छ ।

मंगलबारै गरिएको एन्टीजेन परीक्षणमा सोही नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको थियो । जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनालाई कोरोना पुष्टी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । संक्रमण पूष्टी भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ ।

पाण्डे थरका पुरुष केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ । गुरुङ भने चालक हुन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण सुरु गरिएको हो ।

सोमबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको थियो ।।