खोटाङ बैसाख २१, खोटाङका साकेला गाउँपालिका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको छ । ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टी भएको हो ।

गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइएकामा दुई जनालाई संक्रमण पूष्टी भएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताउनुभयो । काठ्माण्डौंमा अध्ययनरत रोका बैशाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते जिल्ला आएका हुन् ।

संक्रमित दिक्तेलबजारको किरातचौक हुँदै घर पुगेको खुलेको छ । हाल कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हाल होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई मंगलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।
गाउँपालिकाले बैशाख १८ गते २६ जनाको स्वाव परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार रिपोर्ट आएको हो ।

कोरोना संक्रमण पुष्टी भएसँगै बाँझे च्यानडाडाँडलाई शिल गरिएको छ । संक्रमितसँगको सम्पर्कमा पुगेका व्यक्तीको कन्ट्याक्ट ट्रोसिङ सुरु गरिएको र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तीको पिसिआर रिपोर्ट नआएसम्मका लागि वडालाई गाउँपालिकाले शिल गरेको जनाईएको छ ।

वडा कार्यालयभित्र प्रवेश गर्न र वडाको क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ । यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले सुनाउनुभयो ।
जिल्लाका १० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परीक्षण गराएका हुन् ।