
खोटाङ बैशाख–१३, खोटाङको दिक्तेलबजार–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । दिक्तेल–बाम्राङ–बुइपा छोटो रुट सडकखण्डको आईतबार उद्घाटन गरिएपछि उक्त सेवा सुरु गरिएको हो ।
दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बस छुट्ने गरी बाम्राङ–डल्लेखोला–दम्कु–बुइपा–गाईघाट यातायात सेवा सुरु गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरु हर्षित भएका छन् ।
बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज हुने जनाईएकोे छ ।
बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताउनुभयो । निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोग बिहिन बनेको उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।
दिक्तेलस्थित रत्नपार्कमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणदेवी राईले संयुक्त रुपमा रिबन काटेर नियमित बस सेवाको औपचारिक उद्घाटन गर्नुभयो ।
यसअघि नै, दिक्तेल–नुन्थला–महुरे–बुइपा–गाईघाट यातायात सञ्चालनमा छन् ।।