खोटाङ चैत्र–१८, ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सुरु हुन लागेको राष्ट्रिय जनगणना २०७८ का लागि खोटाङमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न थालिएको छ । चैत्र १ गतदेखि जिल्लामा स्थापित भई काम अघि बढाएको जिल्ला जनगणना कार्यालयले कोही नछुटुन, कोही नदोहोरिउन भन्ने उदेश्यले जिल्लामा सचेतनामूलक गतिविधि सुरु गरेको हो ।
केन्द्रीय तथ्याङ्क विभागले दिएको कार्यतालिका अनुसार नै जनगणनासम्बन्धी विभिन्न गतिविधि अघि बढाउने जिल्ला जनगणनासंयोजक तथा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । शर्माका अनुसार जनताका घर–दैलामा पुगेर तथ्यपरक गणना गरिने छ ।
बुधबार जिल्ला स्तरीय सचेतना गोष्टी आयोजना गरेको कार्यालयले आगामी चार महिना अर्थात असार मसान्तसम्म स्थानीय तहकेन्द्रीत गोष्टीहरु सञ्चालन गर्ने कार्यतालिका रहेको जिल्ला जनगणना अधिकारी जीतबहादुर कोईरालाले बताउनुभयो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्लास्तरीय सचेतना कार्यक्रममा राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, सुरक्षा निकाय लगायतका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारहरुलाई सहभागी गराईएको थियो ।
जाति तथा धर्मका आधारमा भेद्भाव नगरी निष्पक्ष रुपमा जनगणनाका लागि तथ्याङ्क संकलन गर्न÷गराउनुपर्ने सहभागीहरुको सुझाव छ ।