खोटाङ चैत्र–१७, खोटाङस्थित ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा विकासे आयोजनाको निहुँमा सुरु भएको विवाद अन्ततः आयोजना नै रद्द गर्ने सर्तमा टुंगो लागेको छ । बाकाचोलस्थित बिस्काम खोला मुहान भएको ऐसेलुखर्क खानेपानी आयोजनाका विषयमा उत्पन्न विवादलाई सल्ट्याउन आयोजना नै रद्द गर्नुपर्ने अवस्था आएको हो ।

वडाध्यक्ष सन्तबीर तामाङले समन्वय नै नगरी बिस्काम खोलाको पानी अन्यत्र लैजान दिएको बिषय समेतमा असन्तुष्ट स्थानीयले गत चैत्र ४ गते वडा कार्यालयमा तालाबन्दी गरेर विरोध सुरु गरेका थिए । खोलाको पानी अन्यत्र लैजान बन्द गर्नुपर्ने समेतको माग राखी ताला लगाईएपछि उत्पन्न समस्यालाई हल गर्न चैत्र १६ गते सोमबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलासहित द्विपक्षीय छलफल बसेका थिए । उपाध्यक्ष पुष्पकला भुजेल, वडाध्यक्ष शन्तबीर तामाङ र सरोकारवाला पक्षको तर्फबाट वडा सदस्य जयकुमार तामाङ लगायतका टोलीको छलफलबाट आयोजना रोक्ने निर्णय गरिएको जनाईएको छ ।

छलफलले उक्त आयोजना रद्द गर्न कार्यपालिकाले निर्णय गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेल र सरोकारवाला पक्षहरुलाई जानकारी दिने लिखित सहमति गरेको छ । डिपिआर सकिएको करिव तीन करोड रुपैंयाँको आयोजना अन्तर्गत पहिलो किस्ता वापत ५० लाख रुपैंयाँ रकम निकासा भईसकेको प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यको भनाई छ ।

बाकाचोलमा खानेपानी आयोजनासँगै संसदीय विकास कोषको वजेटवाट निर्माण हुने बादेल– विस्काम सडक निर्माण उपभोक्त समिति गठनको बिषयमा समेत विवाद उत्पन्न भएको थियो । वडा कार्यालयमा ताला लगाउँदा वडाध्यक्ष तामाङले आफुखुशी कोठे बैठक राखेर सडक निर्माण उपभोक्ता समिति गठन गरेको आरोप समेत लगाईएको थियो ।
१० लाख रुपैंयाँ वजेटबाट निर्माण गरिने बादेल–बिस्काम सडक उपभोक्ता समितिसँगको सम्झौता रद्द गरी वडा सदस्य जयकुमार तामाङ र डम्बरकुमारी राईको रोहवरमा अर्को उपभोक्ता समिति गठन गर्ने समेत सहमति भएको छ ।

उक्तः दुईबुँदे सहमति लगत्तै वडा कार्यालय तेश्रो पटक लगाईएको ताला खोलिएको छ । यसअघि, शनिबार बोलाइएको भेलामा दुबै पक्षबीच ढुंगा हानाहान हुँदा स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रण बाहिर जाने सम्भावनाकै कारण सोमबार दिक्तेलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ऐसेलुखर्क पुगेको थियो ।

स्रोतका अनुसार वडाध्यक्ष शन्तबीर तामाङ र सदस्य जयकुमार तामाङको ब्यक्तिगत ‘इगो’ले समस्या उत्पन्न भएको हो । कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष र वडासदस्यबीचको द्वन्द्वको असर वडाको योजनामा समेत देखिएको स्रोतको भनाई छ ।।