चैत्र -५, कुटपिटबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि चार महिला र एक पुरुषलाई पक्राउ गरिएको छ । चैत २ गते राती कुटपिट हुँदा गम्भीर घाईते भएका राईको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजानेक्रममा चैत ३ गते मृत्यु भएपछि पाँच जनालाई चैत्र ४ गते गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशकुमार खरेलले बताउनुुभयो । पक्राउ पर्नेको नाम प्रहरीले गोप्य राखेको छ ।

राती घरमा सुतिरहेकी ३४ वर्षकी महिलाको कोठामा प्रवेश गरेर छुन खोजेको भन्दै पुरुषमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द शाहले बताउनुुभयो । पक्राउ परेका पाँच जना विरुद्ध ४ गते नै पाँच दिनको म्याद थप गरिएको छ ।

अनुसन्धानपछि मात्र घटनाको वास्तविकता बाहिर आउने प्रहरी निरीक्षक शाहको भनाई छ । मृतकको शब जिल्ला अस्पताल खोटाङमा चैत्र चार गते पोष्टमार्टम गरिएको छ ।