खोटाङ चैत्र-१, खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको रक गार्डेन(ढुंगे बगौंचा)मा पर्यटकको आकर्षण बढेको छ । प्राकृतिक रुपमै आकर्षक आकृतिका ढुंगाहरु रहेको स्थललाई ‘रक गार्डेन’को रुपमा बिकास गर्न सुरु गरिएपछि पर्यटक आकर्षित बनेका हुन् ।


हलेसी तुवाचुङ नगरपालिकास्थित हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थलदेखि करिब आधा घण्टा पैदल हिँडेर पुग्न सकिने ककनीडाँडालाई रक गार्डेनको रुपमा बिकास गर्न सुरु गरिएको छ ।

नगरपालिकाको क्रमागत योजनाका रुपमा करीब पाँच करोड ५० लाखमा सम्पन्न हुने ‘चुरेडाँडा रक गार्डेन’ निर्माणको काम सुरु गरिएसँगै हलेसी पुग्ने अधिकांस मानिस रक गार्डेनसम्म जान थालेका हुन् ।


१ सय ६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै-चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनीलाई समेटेर रक गार्डेन बनाइने डिपिआर निर्माण गरी काम थालिएको मेयर ईवन राईले बताउनुभयो । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने र नगरपालिकाको आम्दानीको दीर्घकालिन स्रोतका रुपमा विकास गर्न ककनीडाँडालाई रक गार्डेनका रुपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख राईको भनाई छ ।


विश्वको सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमश्रृङ्खला, तराईका फाँट एवम् वरपरका दृश्यावलोकन गर्न उपयुक्त रक गार्डेनका लागि प्रदेश सरकारबाट यस वर्ष ४० लाख बजेट विनियोजन भएको छ ।


ककनीडाँडालाई आकर्षक बनाउन ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ-ठाउँमा ढुङ्गे गेट बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मुर्ती बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाईकन कालो, सेतो र रातो ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला सँस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको छ ।

यस्तै, सगरमाथा लगायतका हिमालको तस्वीर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुङ्गाकै स-साना गेट निर्माण गर्ने, रक गार्डेनको चारैतिर तारवार तथा वाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा रिल्याक्स गर्नका लागि डाँडाडाँडामा काठबाट बनेको बिसौनी राख्नेगरी तयारी गरिएको छ ।


यस बाहेक रक गार्डेनमा विद्युत, पिउनेपानी, विश्रामस्थल, केवलकार, भोजनालय, कफीसपसम्मको परिकल्पना गरिएको वडाध्यक्ष राईले बताउनुभयो । भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ ।