खोटाङ फागुन–२५, जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री पद दुई महिना भन्दा बढी नरहने बताउनुभएको छ । खोटाङस्थित दिक्तेलबजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले यस्तो बताउनुभभएको हो ।
जसपा जिल्ला प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक घटनाले त्यस्तो अवस्था सिर्जना भएको उहाँले जनाउनुभयो ।
जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विकसित राजनीतिक घटनाक्रममा सबैभन्दा पश्चगामी रहेको समेत धारणा राख्नुभयो । नेपालको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधीसभा विघटन गर्ने यात्राबाट प्रधानमन्त्री ओली प्रतिगमनको बाटोमा लागेको नेता राईको आरोप छ ।
विकसित राजनीतिक घटनाक्रमले जसपालाई ‘किङ मेकर’ बनाएको भन्दै आफ्नो पार्टीले सोच–विचार गरेर मात्र अगाडि बढ्ने कुरामा जोड दिनुभयो । नेपालको राजनीतिक ध्रुविकरणको दिशामा अगाडि बढेको बताउँदै नेता राईले अब आफ्ना पार्टीको नीति र विचार अनुसार शर्तहरु अगाडि राख्दै शसर्त सरकारमा सामेल हुन सकिने सम्भावना रहेको राईको भनाई छ ।
नेता राईले सवै राजनीतिक दलहरुले जसपालाई प्रधानमन्त्रीको नेतृत्व दिन तयार रहे जसपाले लिन पनि तयार रहेको सुनाउनुभयो ।