खोटाङ फागुन–२५, खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा फेमिली केयर अस्पताल सञ्चालनमा आएको छ । काठमाडौँस्थित धुम्बराहीमा सञ्चालन हुँदै आएको अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरि मंगलबारदेखि सुरु गरिएको हो ।

शुरुवाती चरण १५ शैयामा सञ्चालन गरिएको अस्पताललाई ५० शैया पु¥याउने तयारी रहेको सञ्चालक समितिका अध्यक्ष डाक्टर कृष्णकुमार राई ‘केके’ले बताउनुभयो । स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गरिएको अस्पतालमा आकस्मिक सेवा तथा हाडजोर्नी, दाँत, प्रसुति, बाल रोग, जनरल सेवा लगायत सबै किसिमको उपचार हुने जनाइएको छ । कमाउनका लागि नभई सेवाका लागि सञ्चालन गरिएकाले सरकारी अस्पतालहरुकै तुलनामा उपचार ुशलक लिने डाक्टर केकेको भनाई छ ।

आकस्मिक रोगको सोही अस्पतालमा र गम्भीर किसिम (टाउको लगायत)का बिरामीलाई राजधानी काठमाडौँमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्नेगरि अस्पताल स्थापना गरिएको जनाईएको छ ।
सरकारी अस्पतालसँग प्रतिस्पर्धा गर्न अस्पताल सञ्चालन गरेको नभएकाले जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने सञ्चालक समितिले उल्लेख गरेको छ ।

आगामी दिनमा मेडिकल तथा नर्सिङ कलेज समेत सञ्चालन गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गरिएको हो ।
कलेज सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा ५० रोपनी जग्गा व्यवस्थापन गरिएको सञ्चालक समितिका सदस्य जेबी राईले बताउनुभयो । काठमाडौँमा कार्यरत डाक्डर तथा खोटाङ जिल्लावासीको शेयर लगानीमा स्थापना गरिएको अस्पतालमा हालसम्म पाँच करोड बढी लगानी भइसकेको बताईएको छ ।
जिल्लावासीकै शेयर लगानीमा शल्यक्रिया सहितको उपचार हुनेगरि स्थापना गरिएको अस्पताल सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् ।

पहिलो दिन निःशुल्क स्वास्थ्य शिबिर

अस्पताल सञ्चालनमा ल्याइएको पहिलो दिन निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । काठमाडौँबाट विशेषज्ञ डा.सहितको टोली ल्याएर आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा जिल्लाका १८३ जना बिरामीले निःशुल्क सेवा लिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा अहिले १५ शैयाको एउटा सरकारी तथा दुई वटा सामुदायिक अस्पताल सञ्चालनमा छ । जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई उपचारका लागि बाहिरी जिल्ला रिफर गर्नुपर्ने बाध्यता छ ।