खोटाङ, भदौ । खोटाङका १२ सडकलाई अस्थायी रुट पर्मिट दिइएको छ । जिल्ला यातायात व्यवस्थापन समितिको बुधबार बसेको बैठकले जिल्लाका १२ वटा कच्ची सडक तथा खोटाङ र छिमेकी जिल्ला जोड्ने ३ वटा सडकलाई अस्थायी रुट पर्मिट दिएको हो । हालसम्म रुट पर्मिटबिनै गाडी सञ्चालन हुँदैआएको कच्ची सडकलाई अस्थायी पर्मिट दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । 
सरकारी सडक भाडादर प्रतिकिलोमिटर बढिमा ४ रुपैयाँ भएपनि समितिले खोटाङमा प्रतिव्यक्ती प्रतिकिलोमिटर ९ रुपैयाँ र जीपकालागि प्रतिव्यक्ती प्रतिकिलोमिटर ११ रुपैयाँ भाडा दर तोकेको छ । 
समितिले दिक्तेल–जयराम (७२ किलोमिटर), दिक्तेल–चखेवाभञ्ज्याङ (४८ किलोमिटर), दिक्तेल–पाथेका (२६ किलोमिटर), दिक्तेल–मौरे–रसुवा–खोटाङबजार (८७ किलोमिटर), दिक्तेल–जालपा–बाक्सिला (३८ किलोमिटर), दिक्तेल–बिजुले–लामीडाँडा–रभुँवा (५१ किलोमिट), दिक्तेल–कुभिण्डे–रावाखोला–दुबेकोल–ऐसेलुखर्क (७० किलोमिटर) सडकलाई अस्थायी रुट पर्मिट दिएको छ । 
यस्तै, दिक्तेल–अस्पताल–लफ्याङ–खोटाङबजार (७४ किलोमिटर), धाप्लाङ–चिसापानी (३३ किलोमिटर), रेग्मीटार–पञ्चमी (१३ किलोमिटर), बिजुले–दुबेकोल (२९ किलोमिटर) र दिक्तेल–खानीडाँडा सडकले अस्थायी रुट पर्मिट पाएको छ । खोटाङ र राजधानी काठमाडौं जोड्ने दिक्तेल–हलेसी–जयराम–घुर्मी–खुर्कोट–भुकण्डेबेँसी–काठमाडौं (२६५ किलोमिटर), दिक्तेल र उदयपुरको कटारी जोड्ने दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी (१३५ किलोमिटर) र दिक्तेल र गाईघाट जोड्ने दिक्तेल–मौरे–फोक्सिङटार–गाईघाट (१२३ किलोमिटर) सडकलाई समेत अस्थायी रुट पर्मिटकालागि यातायात व्यवस्था कार्यालय समक्ष रिफारिस गरिएको समितिले जनाएको छ ।