राजन समीप
/दृष्टिकोण/विचार
मुख्यमन्त्री शेरधन राईप्रति मेरो कुनै आग्रह र पूर्वाग्रह छैन । मेरो प्रश्न नेपाली कम्युनिष्ट आन्दोलनसँग जोडिएर निर्माण भईरहेको संस्कृति माथि हो । कम्युनिष्ट आन्दोलनको सिद्धान्त र मर्मप्रति भएको साँस्कृतिक प्रहार प्रति असहमती हो ।

नेपाली जनताको बलिदानी र लामो संघर्षबाट निर्मित कम्युनिष्ट पार्टीको श्रद्धय नेता हुनुहुन्छ शेरधन राई । हजारौ शहिदहरुको बलिदानी र जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अन्तर्गत प्रदेश नं १ को पहिलो मुख्यमन्त्रि जिम्मेवारी प्राप्त गर्नुभयो । यो आफैमा गर्वलायक र ऐतिहासिक विरासत कायम गर्ने एउटा पाटो हो ।

हामी सबैको आग्रह अगाडी नै थियो उहाँको व्यवस्थित पारिवारिक जीवनको कामना बारम्बार गरिरहन्थ्यौ । अलि ढिला गरि झण्डै चालिसको दशकको अन्त्य तिर पुगेसी विवाह बन्धनमा बाधिने निर्णयमा पुग्नु हामी सबैको लागि गर्वको विषय हुन्छ नै । जीवनका उर्जाशिल समय युवा उमेर कम्युनिष्ट पार्टीलाई उचाईमा पु¥याउन नयाँ व्यवस्था निर्माण गर्ने आन्दोलनमा उहाँको योगदान र संघर्ष अतुलनिय रह्यो ।

तर कम्युनिष्ट आदर्श र दर्शन बोकेको एक निष्ठाको नामले विवाहको नाममा गरेको करोडौ खर्च र भड्किलो तडक भडक खास शोभनिय देखिएन । अझ कम्युनिष्ट पार्टीका नेता जो सर्वहारा वर्गको हित पक्षमा निरन्तर निरन्तर छ, उसैको भड्किलो जिन्दगी हेरेर, चिहाएर ती सिमान्तकृत भुई मान्छे श्रमजीवि वर्गहरुको भोक र शोक मर्न सक्छ र ? हामीले आज बाचेको जिन्दगी भोलि गएर संस्कृतिमा रुपान्तरण हुन्छ, अब भन्नुस् हामी कस्तो सस्कृतिमा समाजलाई रुपान्तरण गर्ने प्रयत्न गरिरहेका छौ ?

हो सार्वजनिक जीवन बाचेकाहरुको पनि नीजि जीवन हुन्छ उसको आकांक्षा खुसि र बाच्ने जिन्दगी फरक होला तर शेरधन राई समाज रुपान्तरणको अभियानमा तीन दशक बढी निरन्तर अहोरात्र छन् । अझ बाँकी थुप्रै वर्षहरुमा उहाँको योगदान ठोस रुपमा पार्टी र संगठनमा निरन्तर देखिनेछ र हुनेछ । तर सार्वजनिक पद धारण गर्नसाथ करोडौ अर्बौ खर्च बिना हिच्किचाहट गर्न तत्पर हुनुलाई कुनै एउटा सामान्य कार्यकर्ता वा नागरिकको प्रश्न तेर्सियो भने जवाफ कहाँबाट कस्तो आउछ होला ? चिन्ता चाँही यहानेर हो ।

अरु रुची र शंका प्रश्न खास केही हैन केवल एउटा निष्ठा र आदर्श तथा संगठनको लागि विशिष्ट योगदान गरेको व्यत्तिले मुलुकको यो संकटको समयमा समेत पार्टी र संगठनको आदर्श विचार विपरित व्यवहार प्रदर्शित हुन्छ, पूर्वीय दर्शन संस्कृति विपरित पश्चिमि संस्कृतिमा आफुलाई रुपान्तरण गर्न कृयाशिल रहन्छ प्रश्न चाही यहाँनेर हो ? जीन्दगीभर आदर्श र विचार भुई मान्छेहरुलाई घोकाएर व्यवहार चाही ठिक विपरित प्रदर्शित हुन्छ भने एउटा सामान्य कार्यकर्ताले प्रश्न गर्न सक्ने कि नसक्ने ?

पछिल्लो पुस्ता अझ भनौ युवा पुस्ता जो पार्टीको आदर्श विचारबाट प्रशिक्षित हुदैछन् उनीहरुलाई हनुमान शैलीमा रुपान्तरण गर्ने कि प्रश्न गर्ने बानीको विकास गराउने ? आजको मुलभुत प्रश्न पनि यहि हो । प्रश्न मरेर भजन सँस्कृतिको विकास राजनीतिक पार्टी भित्र जसरी मौलाउदैछ त्यसको आईसब्रेक गर्न पनि कमरेड शेरधन राईको बिवाहको भड्किलो शैली प्रति प्रश्न उठाउने दुस्साहस गरेको हुँ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here