खोटाङ, १८ भदौ । जिल्ला अस्पताल खोटाङका चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहले सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहका कारण उपचारमा आउने बिरामीलाई चिकित्सकले बेवास्ता गर्दा उपचारमा आउने सेवाग्राही मारमा परेका हुन् ।
बेड भर्ना भएर उपचार गराइ रहेका बिरामीलाई समेत चिकित्सकले समयमा उपचार नगर्ने गरेको बिरामीका आफन्त खाल्लेका नेत्र कटवालले बताउनुभयो । “मैले मेरो आमालाई उपचार गराउन अस्पताल लगेको थिएँ ।” उहाँले भन्नुभयो, “घण्टौं कुर्दासमेत डाक्टर आएनन्, अनुरोध गर्न जाँदा उल्टै हप्काएर पठाए ।”
अस्पतालमा भर्ना भएर उपचार गराइ रहेका बिरामीका लागि बिहान÷बेलका ड्युटीमा खटिने चिकित्सकले समेत झर्कँदै उपचार गर्ने गरेका स्रोतको भनाइ छ । “उपचारमा आएका बिरामी छट्पट्टी रहेका हुन्छन् ।” स्रोतले भन्यो, “ड्युटीमा आउने डाक्टरले उल्टै हप्काएर हेर्दै नहेरी हिँड्छन् ।”
अस्पतालमा कार्यरत चिकित्सकहरुले आफ्नो ड्युटीभन्दा बढी समयको भत्ता मागेपछि सुरु भएको विवाद अहिले उत्कर्षमा पुगेको प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार विवादकै कारण जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक डा रामबहादुर केसी आफू बस्दै आएको क्वाटर छाडेर अन्यत्र सरेका छन् ।
यसअघि अस्पतालमा एक जना मात्र चिकित्सक हुँदा ड्युटी भन्दा बढी समय काम गरेबापत अस्पतालले भत्ता दिने गरेको थियो । सोही विषयलाई लिएर अहिले दरबन्दी पूरा भएको समयमा पनि चिकित्सकले बढी समयको भत्ता मागेको स्रोतले जनाएको छ ।
अस्पतालले दिने सेवा तथा सुविधामा आफूले कुनै कसुर नराखेको जनस्वास्थ्य प्रमुख चिकित्सक डा केसीले बताउनुभयो । “अस्पतालको विषयलाई लिएर सेवाग्राहीबाट गुनासाहरु आएका छन् ।” उहाँले भन्नुभयो, “यो राम्रो हैन, यसलाई तत्काल आन्तरिक रुपमै हल गर्ने पहल गरिरहेको छु ।”
पछिल्लो समय अस्पतालमा कार्यरत चिकित्सकहरु प्रत्येक बेलुका अस्पताल परिसरमै नाचगान गरेर बस्ने गरेका छिमेकीहरुले बताएका छन् । “अस्पतालमा बिरामी छट्पट्टी रहेका हुन्छन् ।” छिमेकी लोकेन्द्र राईले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले समयमै ध्यान नदिने हो भने ठूलो घटना हुन्छ ।”
जिल्लाको एक मात्र अस्पतालमा आन्तरिक कलह सृजना भएपछि उपचारमा आउने अधिकांश बिरामीलाई चिकित्सकले बाहिर पठाउने गरेका स्रोतले जनाएको छ । “अस्पतालले यहाँ नहुने भनेर म आफैलाई बाहिर रेफर ग¥यो ।” खार्मीका सम्बर राईले भन्नुभयो, “हेलिकोप्टर चार्टर गरेर काठमाडौं आइयो, अन्तमा केही भएको रहेनछ ।”
अस्पताल स्रोतका अनुसार अस्पतालको दिवासेवामा अहिले दैनिक २०० को हाराहारिमा उपचारका लागि बिरामी आउने गरेका छन् । चार जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा सोही अनुसार चिकित्सक हुँदा पनि दिउँसोको समयमा समेत बिरामी जाँच गर्न घण्टौँ प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको भनाइ छ ।
सरकारले ७० किसिमको औषधि निःशुल्क उपलब्ध गराएपनि जिल्ला अस्पताल खोटाङमा अहिले अधिकांश औषधि सकिएको जनाइएको छ । अस्पतालको बेथितिका कारण जाँच गराउन आउने बिरामीले टिकटमा समेत पैसा तिर्नुपर्ने अवस्था रहेको छ ।
जनस्वास्थ्य प्रमुख चिकित्सक केसीले अस्पतालको समग्र विकासमा पहल गर्दा अन्य चिकित्सकले एक्लो बनाएको स्रोतको दाबी छ । चिकित्सक केसीले आफू प्रमुख भएर खोटाङ आए लगत्तै अस्पताल परिसरमा घेराबार हाल्नुका साथै समग्र विकासका योजना सार्वजनिक गर्नुभएको थियो ।