खोटाङ माघ–२६, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले खेल प्रशिक्षक राखेर खेलप्रेमी वालवालिका तथा किशोरकिशोरीलाई निःशुल्क खेल प्रशिक्षण गराईरहेको छ । नगरपालिकाले सितोरियो कराते र फुटवल खेलमा रुचि राख्नेहरुका लागि प्रशिक्षकको व्यवस्था गरी निःशुल्क प्रशिक्षण गराईरहेको हो ।

नगरपालिकाले हलेसीबजार र दुर्छिममा सितोरियो कराते तथा च्यास्मिटारमा फुटवलको प्रशिक्षण गराईरहेको मेयर ईवन राईले वताउनुभयो । खेलकुदको माध्यमवाट असल तथा संस्कारी समाज निर्माणका लागि कार्यविधि तयार गरी नायव सुव्वा सो सरहको तलव सुविधामा दुई जना प्रशिक्षक नियुक्ति गरी खेल प्रशिक्षण गराईरहेको मेयर राईको भनाई छ । खेलकूदको माध्यमवाट पनि नगरपालिकालाई देशविदेशमा परिचित गराउन सकिने मेयरको धारणा छ ।

गत बर्षदेखि दुर्छिममा ७० जना र हलेसीमा ४५ जनालाई कराते प्रशिक्षण दिईरहेको प्रशिक्षक मिलन कसँजुले सुनाउनुभयो ।
यता, च्यास्मिटारमा करिव ४५ जनाले फुटवलको प्रशिक्षण लिईरहेको प्रशिक्षक सागार राईले जनाउनुभयो । नगरपालिकाले आफ्नो रुचि र क्षमता प्रस्फुटन गराउने अवसर दिलाएकोमा उत्साहित बनेको सहभागी खेलाडीहरु वताउँछन् ।

११ वडा रहेको नगरपालिकाका सवै वडामा खेल क्षेत्रको विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ ।