खोटाङ माघ–२२, खोटाङमिस्थत रावाबेँसी गाउँपालिकाका कृषकहरु हाते ट्याक्टर पाएपछि उत्साहित बनेका छन् । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेपछि कृषक उत्साहित बनेका हुन् ।

गाउँपालिकामा गठित १ सय २० वटा कृषक समुहमध्ये पहिलो चरणमा १४ समुहलाई हालै हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा संयोजक मुगाधन राईले बताउनुभयो । २० देखि २१ जनाको समुह रहेको कृषकका लागि ७५ हजार रुपैंयाँ बरावरको ट्याक्टर अनुदानमा प्रदान गरिएको संयोजक राईको भनाई छ । कृषक समुहले ११ हजार २ सय ५० रुपैंयाँ लगानी गरेपछि हाते ट्याक्टर पाएका हुन् । अन्य समुहका लागि समेत क्रमशः कृषि औजार प्रदान गरिने जनाईएको छ ।

हाते ट्याक्टर पाएपछि कृषि उत्पादन बढाउन कृषक उत्साहित बनेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जनाउनुभयो । गाउँपालिकाले कृषक र कृषिमैत्री गतिविधि तथा कार्यक्रमहरुलाई बढावा दिँदै आएको अध्यक्ष निरौला बताउनुुहुन्छ । ।