खोटाङ माघ–१९, खोटाङस्थित दिपु्रङ चुईचुईचुम्मा गाउँपालिकामा यात्रुवाहक बसले किच्दा एक बृद्दाको मृत्यु भएको छ । उक्त गाउँपालिकाको पञ्चमीबजारबाट गाईघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसले किच्दा गाउँपालिकाको –३ नम्बरवडामा पर्ने छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी राई मगरको मृत्यु भएको हो ।
गाईघाट जाने बुहारी र दुई नातिनीलाई बस चढाउन गएको अवस्थामा वृद्दाालाई सोमबार बिहान ७ बजे छोरम्बुको रोभोलुङमा बसले बिच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसभित्रै चढेर आफन्तलाई सिटमा राखेपछि ओर्लने क्रममा सह–चालकले ‘छिटो झर्न’ भन्दै ठेलेपछि वृद्दा कुनापट्टिको लिकमा पर्दा बसले किचेको प्रत्यक्षदर्शीको भनाई उद्दृद गर्दै छोरम्बुका वडा सदस्य तुलस राईले बताउनुभयो । साँघुरो ठाउँमा धकेलिएर भुईमा झरे पनि वृद्दा चिप्लिएर लिकमा पर्दा छाती र पेट तेर्सो पांग्राले पेलेको स्थानीयले बताएका छन् ।
घटना लगत्तै बस, बसका चालक दलबहादुर पौडेल र सह–चालक अमृत कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेपछि बिस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक गोबिन्द शाहको भनाई छ ।
आफन्तले घटनास्थलवाट शव उठाउन अस्विकार गरिरहेको मृतकका आफन्त कबिन्द्र राईले जनाउनुभयो ।