खोटाङ माघ–१७
‘कल्कलाउँदो एक निर्दोष मुस्कान मुस्कुराएको
आमाको पुरानो एक थान फोटो
अथवा
आमाको जवानीको तासफोटो सुरक्षित छ मसित
म अहिले आमाको तासफोटोमा आफुलाई हेरिरहेकी छु ।’
कविता संग्रह ‘आमाको तासफोटो’मा समेटिएको सोही शीर्षक कविताको अन्तिम हरफ हो यो । साहित्यकार/कवियत्री सुष्मा रानाहँमाले दक्षिण कोरियामा रहेर नेपाली साहित्यिक मनहरुमा ‘आमाको तासफोटो’ प्रतिबिम्वित गराउनुभएको छ ।
युवा पुस्ताको साहित्यमा दमदार, बफादार तथा अमेट हस्ताक्षर रानाहँमाको मर्मस्पर्शी र सार्थक बिम्ब–प्रतिविम्ब बोक्ने नाम भएको कृति ‘आमाको तासफोटो’को प्रकाशक फिनिक्स बुक्स रहेको छ । कोरोना महामारीकैवीच सुन्दर स्वरुप दिईएको वजनदार तथा प्रतिनिधि ‘आमाको तासफोटो’ हालै मात्र दक्षिण कोरियामै सार्वजानिक गरिएको हो ।
फूटकर लेख-रचनाबाटै साहित्यमा गर्बिलो नाम पेश गर्दै पहिलो कृति प्रकाशनसम्म आईपुग्नुभएकी सुष्मा रानाहँमा खोटाङको लामाखु हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा(लामाखु)मा जन्मिनुभएको हो । रानाहँमाले स्कुले उमेरदेखि नै लामाखु अर्थात ग्रामीण परिबेशका पाखा–पखेरा, ढुंगा–माटो, खोला–नाला, बन–जंगल, रीति–संस्कृति, रहन–सहन, चाल–चलन, खेती–पाती, मेला–पात या भनौं समग्रमा ‘गाउँ’लाई लेख–रचनाको पृष्ठभूमि बनाउँदै आउनुभयो ।
उहाँ लेख्नुहुन्छ–‘गाउँ आफै मौलिक कविताहरुको उर्वर थलो हो ।….’
पछिल्लो समय दक्षिण कोरियामा रहँदै आउनुभएकी रानाहँमाले ‘गाउँ’ बाहेक देश, काल, परिवर्तन लगायत समसामयिक बिषयवस्तुलाई समेत समाउँदै लेखकीय पृष्ठभूमिलाई फराकिलो पार्दै आउनुभएको छ । यद्यपी, पहिचान, मुन्धुमी धार र लयलाई फेरि पनि सुष्माले लेखनको मियो वनाउने गरेको पाईएको भन्दै अग्रज साहित्यकारहरुले प्रशंसा गर्ने गरेका छन् । जुन कार्यलाई युवा चेतना र दायित्वबोधको को उपज भनिएको छ ।
‘आमाको तासफोटो’मा जातीय पहिचान, प्रेम र इतर विचार केन्द्रीत ४५ थान कविताहरू समेटिएका छन् ।
रानाहँमाको ‘आफ्नै कुरा’ पष्ठमा उल्लेख छ–‘जतिबेला खोटाङको विकट गाउँ लामाखुमा एक घण्टाको उकालो हिँडेर स्कुल धाईन्थ्यो, त्यहिबेला नबुझेरै सही, थाहा नपाएरै सही मैले जीवनमा पहिलो पटक लेखेको कविताको शीर्षक ‘आमा’ नै थियो । मेरो जीवनमा पहिलो कविता संग्रहको नाम पनि ‘आमाको तासफोटो’ जुर्नुलाई सुखद संयोग ठानेको छु ।’
‘नमज्जा’ देखि सुरु भएको कविता क्रम मन छुने अर्को शीर्षकको कविता ‘कचुर’मा अन्तिम गाता लागेको छ । संग्रहित सबै कविता उत्तिकै गहन रहेको सामाजिक सञ्जालहरुमा प्रतिक्रिया देख्न सकिन्छ ।
‘कचुर’ (किराती समुदायमा धामी बस्दा धामीले तत्काल परिवार वा समाजमा आईलाग्ने राम्रा/नराम्रा वा शुभ/अशुभ पक्षको अनुमान लगाउन काउली काट्ने कार्य) आफैमा थोरै प्रयोगमा आउने तर गहकिलो शब्द मान्छन् किरातीहरु । ‘कचुर’लाई किराती आस्था बोक्ने शव्द मानिन्छ ।
लेखक तथा कवि रानाहँमा ‘इतर–आवाज’ अर्थात धार्मिक, सांस्कृतिक वा सत्ता पक्षले निर्माण गरेको एकात्मक सौन्दर्य भत्काउने साहित्यिक आन्दोलनकी अभियन्ता समेत हुनुहुन्छ ।
सुष्मा रानाहँमाले दक्षिण कोरियामा सक्रिय खोटाङ सेवा समाजका कोषाध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको छ ।।