खोटाङ २०७७ माघ–१५,
राष्ट्रिय खोप अभियान अन्र्तगत कोभिड–१९ विरुद्दको ‘कोभिड’ शिल्ड खोप लगाउन सुरु गरिएपछि खोटाङका सर्वसाधारण हर्षित बनेका छन् । पहिलो दिन बिहिबारदेखि जिल्लामा कोभिड बिरद्दको खोप लगाउन सुरु गरिएपछि कोरोना महामारीवाट त्रसित जिल्लावासीमा हर्ष छाएको हो ।

कोरोना माहामारीको फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरुक्षाकर्मीहरुलाई पहिलो प्राथामिकतामा राखेर जिल्ला अस्पताल खोटाङमा खोप लगाउन सुरु गरिएको छ । जिल्ला अस्पतालमा पहिलो दिन ४४ पुरुष र ३० महिला गरी ७४ जनालाई खोप लगाईएको छ । स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई पहिलो खोप लगाईएको अस्पतालले जनाएको छ ।

पहिलो चरणको खोप प्रथमिकताको आधारमा १ हजार ६ सय १८ जनालाई लगाइने बताइएको छ । जिल्लामा पहिलो पटक कोभिड–१९ विरुद्धको खोप लगाउने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले कोभिड–१९ को नियन्त्रण तथा न्यूनिकरणमा खटिएका स्वास्थ्यकर्मीलाई सरकारले प्राथमिकतामा राखेर खोप दिन थालेकोमा सरकारको प्रशंसा गर्नुभएको छ ।

पहिलो चरणको खोप लगाइसकेपछि दोस्रो चरणको खोप क्रमशः सबैलाई लगाउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिल्ला अस्पताल खोटाङका व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । – रामधन राई