खोटाङ माघ–१५, किराती सभ्यताको उद्गम थलो मानिने खोटाङको तुवाचुङ–जायाजुमडाँडामा राखिएको किराती पुर्खा रैछाकुलेको प्रतिमा राखिएको स्तम्भको बाहिरी भाग उक्किएको विषयमा सरोकारवालाको ध्यानाकर्षण भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको ऐतिहासिक तथा पर्यटकीयस्थलमा राखिएको रैछाकुलेको प्रतिमा राखिएको स्तम्भ फुटेको विषयमा नगरपालिका, किरात राई यायोक्खा, तुवाचुङ–जायाजुम संरक्षण समिति लगायतले चासो देखाएको हो ।

किरात समुदायको आस्थाको केन्द्र मान्ने गरिएको तुवाचुङ–जायाजुममा राखिएको रैछाकुलेको प्रतिमाको पिलर तोडफोड गरिएको भन्दै हंगामा फैलिएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको नेतृत्वमा तुवाचुङ–जायाजुम संरक्षण समितिका अध्यक्ष राकेश राई, महासचिव दिनेश राई, ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेश खरेल, पत्रकार लगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

स्थलगत निरीक्षणका क्रममा रैछाकुलेको प्रतिमा राख्नका लागि उठाइएको स्तम्भको दक्षिणतर्फको एक भागको प्लाष्टर उक्किएको देखिएको छ । प्लाष्टर उक्किएको भागमा कुनै वस्तुले हिर्काएजस्तो चिन्ह नदेखिएको, स्तम्भको विभिन्न भागको प्लाष्टर पनि चर्किएको र कतिपय ठाउँका प्लाष्टर खोक्रो भएजस्तो आवाज निस्कने गरेको पाइएको निरीक्षणमा संलग्न अधिकारीको भनाई छ ।

निरीक्षणका क्रममा तुवाचुङ–जायाजुमकै तायामाको तान बुन्ने ढुंगामा राखिएको ‘तायामा र खियामा भलाकुसारी गर्ने ठाउँ’ र ‘रैछाकुले’ लेखिएको बोर्ड भने केही पर फालिएको अवस्थामा भेटिएको छ ।
घटनाका वारेमा किरात राई यायोक्खाको केन्द्रीय समितिले बुधबार केन्द्रिय सदस्य युवराज राईको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र यथार्थ प्रतिवेदन सार्वजनिक गर्न समय दिइएको यायोक्खाका महासचिव जनक राईले बताउनुभयो ।

देश÷विदेशमा बसोबास गरिरहेका किरात र गैर–किरातको आर्थिक सहयोगमा संकलन भएको ५५ लाखको लागतमा तुवाचुङ–जायाजुममा २०७४ साल मंसिर २ गते किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राखिएको हो ।