भदौ २३ । जिल्ला अस्पताल खोटाङले मर्मत गर्दा काम लाग्ने महंगो उपकरणलाई ‘कौडी’को भाउमा लिलाम गरेको पाइएको छ । धेरैजसो मर्मत गर्दा काम दिने १ सय १२ थरिका उपकरण तथा सामान न्यून मूल्यमा लिलाम बिक्री गरेको पाइएको हो ।
जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० प्रकारका उपकरणहरु गत फागुनमै २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको हो । अस्पताल बिकास समितिलाई जानकारी नै नगराई करोडौंको उपकरणलाई कौडीको भाउमा बिक्री गरेको भन्दै जिल्लामा बिरोध सुरु भएको छ ।
जिल्ला अस्पतालले कवाडी भनेर लिलाम गरेको उपकरणहरु मर्मत गरेर सामुदायीक अस्पतालमा उपयोगमा ल्याउने तयारी गरिएपछि मात्र स्थानीयले सामान लिलाम गरेको थाहा पाएका हुन् । सस्तो मूल्यामा जिल्ला अस्पतालको उपकरण सामुदायीक अस्पतालमा पु¥याइनुमा मिलेमतोको आशंका गरिएको छ ।
सार्वजनिक सम्पत्तीका बिषयमा सबैलाई जानकारी नदिइएकाले सबैतिरबाट प्रश्न उठेको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । कतिपय सामानको हालको अनुमानित मूल्या नै नतोकी लिलाम गरिएको पाइएको छ । कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन–१६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीकालागि सुचना टाँस गरेको थियो । लाईफ लाईन नेपालका रामकुमार भट्टराईको निरिक्षण र मूल्यांकन पछि त्यसभन्दा चार दिनअघि लिलाम बिक्री उपसमितिले सामान लिलाम बिक्रीको निर्णय गरेको थियो । कतिपय उपकरणहरु सिल प्याक नै नतोडिएको अवस्थामा लिलाम गरिएको स्वयं सामान खरिद गर्नेमध्येका एकले बताए । जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले भने अस्पतालको उपकरण लिलाम बिक्री र सामुदायीक अस्पताल सञ्चालन संयोग मात्र भएको बताए ।
४ थान प्रिन्टर क्यानल, ७ वटा कम्प्यूटर डेस्कटप, दुई थान फ्याक्स मेसिन, दुई वटा जेनेरेटर, एक थान फोटोकपी मेसिन, ८ वटा स्टेप्लाईजर, एक थान फलामे सेफ, दुई थान यसिका क्यामेरा, एक थान सामसुङ मुभी क्यामेरा, एक थान पानासोनिक रेडियो क्यासेट रेकर्डर, दुई वटा कम्प्यूटर टेबल, दुई थान कम्प्यूटर कुर्सी, दुई थान कलर टेलीभिजन, दुई थान पोर्टेबल जेनेरेटर, एक वटा पेसेन्ट ट्रली, एक वटा ह्विल चेयर, चार थान ईसिजि मेसिन, चार वटा एक्स–रे मेसिन, एक थान एचपि लेजर जेड प्रिन्टर, एक थान यूपिएस, ११ वटा स्टेथेस्कोप, ३८ वटा बिपि सेट, २१ वटा हस्पिटल बेड, १३ वटा बेडसाइड लकर, एक थान बेड लेबर डेलीभरी टेबल, दुई थान स्ट्रेचर, चार थान अटोस्कोप, एक थान माइस्क्रोस्कोप लगायतका उपकरण तथा सामानहरु लिलाम बिक्री गरेको पाइएको छ ।
अस्पताल बिकास समितिका सदस्य ज्ञानेन्द्र जोशीले अस्पतालको सामान लिलाम भएको बिषयमा समितिलाई जानकारी नदिइएको बताए ।
कसैलाई थाहै नदिइ सार्वजनिक सम्पत्ती लिलाम गरिएको सार्वजनिक भएपछि उद्योग बाणिज्य संघको आग्रहमा सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । बैठकपछि अस्पतालको सामान लिलाम बिक्री भएको बिषयमा स्पष्ट बनाउन लागि अस्पताललाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए ।