खोटाङ पुष–६, खोटाङमा पहिलो पटक बिद्यार्थीहरुको रक्त समुह पहिचान सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर मातहतका सामुदायिक तथा संस्थागत गरी एक सय तीन वटै विद्यालयका विद्यार्थीहरुको रक्त पहिचान गर्न सुरु गरेको हो ।

मंगलबार नगरपालिकाको स्वास्थ्य शाखा र रक्त संञ्चार केन्द्रको सहकार्यमा दिक्तेलवजारस्थित पञ्च माविबाट रक्त समुह पहिचान अभियानको शुभारम्भ गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । मेयर रिजालका अनुसार सम्पूर्ण विधार्थीहरुको रक्त समुह पहिचान गरेर आगामी शैक्षिक सत्रदेखी विधार्थीको परिचय पत्रमा रक्त समुह उल्लेख गरिनेछ ।

‘स्कुल स्वास्थ्य कार्यक्रम’ अन्तर्गत रक्त समुह पहिचान अभियान अघिल्लो बर्ष नै सुरु भए पनि कोरोनको कारण स्थगित भएको थियो । विधार्थीको परिचयपत्रमा नै रगत समुह उल्लेख गरिएपछि दुर्घटना जस्ता आपतकालिन अवस्थामा रगत संकलन तथा उपयोग गर्न सहज हुने जनाईएको छ ।।