खोटाङ पुष–२६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करिव ६ करोड रुपैंयाँको कारोवार गरेको छ । २०४८ सालमा मासिक प्रतिव्यक्ति दुई रुपैयाँ जम्मा गर्न सुरु गरेर २०५३ सालमा स्थापना भएको सहकारीको बार्षिक कारोवार ५ करोड ७४ लाख ५४ हजार ४ सय ६९ रुपैयाँ रहेको हो ।

नियमित बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जीविकोपार्जनमा टेवा पु¥याउने उद्धेश्यले स्थानीय जनसेवा समाज नेपालको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत सहकारी संस्था स्थापना गरिएको थियो ।
सहकारीको आफ्नै भवन जालपामा हालै सम्पन्न २४ औं साधारणसभामा सहकारीको निक्षेप ३ करोड ८८ लाख ७० हजार ७ सय ७२ रुपैयाँ पुगेको जानकारी दिईएको छ । शेयर पुँजी ४४ लाख १० हजार ५ सय ५० रुपैयाँ, ३ करोड २३ लाख ६६ हजार १ सय ५७ रुपैयाँ कर्जा लगानी गरेको र ४ करोड ५० लाख ४० हजार १ सय ५८ रुपैयाँ ऋण असुली गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा शेयर पुँजी एक करोड पुराउने लक्ष्यका साथ यसपल्टको ७ लाख ६१ हजार ८५ रुपैयाँ लाभांशलाई शेयर पुँजीमा रुपान्तरण गरिएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जनाउनुभयो । बिना धितो एक लाखसम्म ऋण उपलव्ध गराउँदै आएको सहकारीको साधारणसभामा शेयर पुँजी वृद्धिका लागि शेयर पुँजी अभिबृद्धि कार्यायोजना पास गरिएको छ । व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचार लगायतका शिर्षकमा ११ देखि १५ प्रतिशतका दरले ऋण प्रवाह गर्दै आएको सहकारीले विभिन्न शीर्षकको बचत गर्दा ७ देखि १०।५ प्रतिशतका दरले व्याज दिँदै आएको छ ।

सहकारीले नियमित बचत, ऐच्छिक बचत, ऋण परिचालन, आवधिक बचत, स्वास्थ्य कोष, मनीट्रान्सफर लगायतका सेवा प्रवाह गर्दैआएको छ ।