खोटाङ असोज–२९,  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पहिलो पटक नगर वस सञ्चालनमा ल्याईएको छ । नगरपालिकाभित्रका यात्रुलाई सहज रुपमा यात्रा गराउन खोटाङ यातायात प्रा.लि.सँगको सहकार्यमा नगरपालिकाले बाह्रै महिना सञ्चालन हुनेगरी सोमबारदेखि नगर बस सञ्चालनमा ल्याएको हो ।
पन्ध्र वटा वडा रहेको नगरपालिकाको सबै वडामा सञ्चालन हुनेगरी बाह्र वटा बस सञ्चालन गरिएको जनाइएको छ । दशैं, तिहार तथा छट लगायत चाड पर्वको अवसरमा आवत÷जावत गर्ने यात्रुलाई मध्यनजर गरेर प्रा.लि.सँग अहिलेलाई बाह्र वटा सडकमा वस सञ्चालन गर्ने गरी २० बुदे सहमती गरिएको छ ।
 नगरपालिकाको बस सञ्चालन गर्न नगरपालिकाले आवश्यक वातावरण बनाउने, चालक र सहचालकलाई पोशाकको व्यवस्था गर्ने, नगरभित्रका जेष्ट नागरिकलाई निःशुल्क यात्रा गराउने, नगरपालिकाले प्रमाणित गरेको एकल महिला, असहाय र अतिबिपन्न व्यक्तिलाई ३३ प्रतिशत छुट दिने सहमती पत्रमा उल्लेख छ । 
महिलाका लागि चार, जेष्ट नागरिकका लागि दुई, फरक क्षमता भएका र पत्रकारलाई एक÷एक वटा आरक्षण सिटको व्यवस्था समेत मिलाइएको खोटाङ यातायात प्रा.लि.का सचिव रामकुमार हिङ्माङले बताउनुभयो । 
सचिव हिङ्माङका अनुसार नगर बसको रङ्ग एउटै बनाउने, अन्य सार्वजनिक यातायातको भन्दा नगर बसको भाडा दर कम गर्ने, नगर बसमा नगर गीत तथा खोटाङ्गे गायक÷गायिकाले गाएको गीत बजाउने जस्ता सहमती नगरपालिका र यातायात प्रा.लि.बीच भएको छ ।
सबै वडामा एकैसाथ सञ्चालन भएको नगर बस दिक्तेलबाट दिउसो ३ बजे छुट्ने र सबै वडाबाट बिहान ६ बजे छुटाउने गरी कार्यतालिका समेत सार्वजनिक गरिएको छ । बस सञ्चालनका लागि दिक्तेल–जालपा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–लफ्याङ, दिक्तेल–बुइपा–विजयखर्क, दिक्तेल–महुरे–विजुले, दिक्तेल–दोर्पा–दुम्ली, दिक्तेल–खानीडाँडा–फेदी, दिक्तेल–बाम्राङ–बुइपा–विजयखर्क र दिक्तेल–नेर्पा–दोर्पा–दुम्ली सडकका लागि रुट पर्मिट दिइएको छ ।