
(नीलो जर्सीमा भोजपुर, खावा र पहेंलो जर्सीमा सोल्माका खेलाडी सेमी फाईनल खेलको तयारीमा )
खोटाङ पुष–२३, खोटाङमा जारी नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको फाईनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएको छ । पाँच दिनदेखि जारी अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता अन्तर्गत शुक्रवार हुने फाईनलमा साकेला गाउँपालिका–२ रतन्छा र टेम्के मयुम गाउँपालिका–५ खावा भिड्ने भएका हुन् ।
नेर्पा स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित संसारीडाँडा खेलमैदानमा विहिवार सञ्चालित खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाई ५–१ गोल अन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको हो । यस्तै, निर्धारित समयमा बरावरी २–२ गोलको स्कोर निस्केपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ट्राईव्रेकरमा हराउँदै खावाले फाईनलको पक्का गरेको हो । खावाले यस अघिको खेलमा पनि दिक्तेल रुम नगरपालिका–११ खार्मीलाई ट्राईव्रेकरमै हराउँदै अघि बढेको थियो ।
२३ वडा सहभागी सेभेन ए साईड प्रथम च्यालेनज कपमा बाक्सिला र सोल्माले सेमी फाईनालिष्टमै चित्त बुझाउनु परेको छ ।
प्रतियोगिताका प्रथम टिमले नगद १ लाख १ हजार १ सय ११ र दोश्रो टिमले ५५ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक बिरेन गुरुङले जनाउनुभयो । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई ३ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजक नेर्पा स्पोर्टस क्लवले जनाएको छ ।
प्रतियोगिताको अन्तिम दिन बिविध मनोरन्जनात्मक कार्यक्रमसहित फाईनल खेल सञ्चालन गर्ने आयोजकको तयारी छ ।