खोटाङ, २९ भदौ । खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले ९ वटा गाउँपालिका र नगरपालिका बनाउन प्रस्ताव गरेको खोटाङमा स्थानीय तहको संख्या १३ वटा, १० वटा र ९ वटा बनाउन फरक–फरक किमिसका खाका तयार पारिएको छ ।
लामो समयसम्मको छलफल र प्रयासपछि विकल्पसहितको तीन वटै खाकाको नामांकन, सिमांकन र केन्द्र टुंगो लगाइएको स्थानीय तह पुनःसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एबं स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए । जिल्लाका दलहरुबीच स्थानीय तहको एउटा साझा खाका बनाउने विषयमा सहमती जुट्न नसकेपछि तीन वटा खाकालाई प्रारम्भिक सुझावका रुपमा आयोग समक्ष पठाइएको छ ।
स्थानीय तह पुनःर्संरचना प्राविधिक सहयोग समितिका अनुशार २ वटा नगरपालिका र ११ गाउँपालिका रहने पहिलो, २ वटा नगरपालिका र ८ गाउँपालिका रहने दोश्रो तथा २ नगरपालिका र ७ गाउँपालिका रहने अर्को खाका तयार पारिएको छ ।
जिल्लामा स्थानीय तहको संख्या १० वा १३ वटा बनाउनमा अधिकांश दलको सहमती भए पनि ९ वटा बनाइनुपर्ने पक्षमा भने एमाले मात्र उभिएको छ । ‘स्थानीय तहको संख्या दश वा तेह्र वटा बनाउनमा सबै दल सहमत छन्,’ पाण्डेले भने, ‘तर, आयोगको मापदण्ड अनुशार स्थानीय तहको संख्या नौ वटा बनाउने खाका पनि तयार पारेर सिफारिस गरेका छौँ ।’
स्थानीय तह १० वटा रहने खाकामा बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार, सल्ले, महादेबस्थान, अर्खौले, धितुङ र लामीडाँडा गाबिसलाई समेटेर दुर्छिम केन्द्र रहने हलेसी–तुवाचुङ नगरपालिका, राजापानी, बिजयखर्क, बुईपा, नुनथला, खार्पा र कुभिण्डे गाबिस समेटेर नुनथलाको महुरे केन्द्र रहने महुरेगढी गाउँपालिका, डुम्रेधारापानी, दुबेकोल, माक्पा, ज्यामिरे, महेश्वरी, जलेश्वरी, ऐसेलुखर्क, बाकाचोल र राखाबांदेल गाबिसको ऐसेलुखर्क केन्द्र रहने ऐसेलुखर्क गाउँपालिका, सप्तेश्वर, बाक्सिला, बासपानी, खार्ताम्छा, फेदी, दिप्सुङ र सुङ्देल गाबिसको बाक्सिला केन्द्र रहने केपिलास गाउँपालिका, हौंचुर, जालपा, खार्मी, पाथेका, नेर्पा, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा र दिक्तेल नगरपालिकाको दिक्तेल केन्द्र रहने दिक्तेल नगरपालिका बनाउन प्रस्ताव गरिएको छ ।
यस्तै, मानेभञ्ज्याङ केन्द्र रहने बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, मात्तिम, टेम्मा, छितापोखरी–६, ७, ८ र ९ लाई समेटेर साकेला गाउँपालिका, पञ्चमीबजार सछितापोखरी केन्द्र रहनेगरी याम्खा, डाँडागाउँ, छोरम्बु, सछितापोखरी, बतासे, छितापोखरी–१, २, ३, ५ र ५ लाई समेटेर दिप्रुङ गाउँपालिका, लिच्कीराम्चे, सिमपानी, वाप्लुखा, लिकुवापोखरी, सावाकटहरे, बड्कादियाले र खोटाङबजार गाबिस समेटेर खोटेहाङ गाउँपालिका, सिन्ताङ साउनेचौंर केन्द्र रहने बराहपोखरी, सुन्तले, साउनेचौंर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गाबिस समेटेर बाराहपोखरी गाउँपालिका तथा चिसापानी केन्द्र रहने डम्बर्खुशिवालय, चिसापानी, दिप्लुङ, काहुले, देबिस्थान र बोपुङ गाबिस समेटेर जन्तेढुंगा गाउँपालिका सिफारिस गरिएको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले जनाएको छ ।
स्थानीय तहको संख्या ९ वटा बनाउने प्रस्ताव अनुशार डिकुवा, बाहुनीडाँडा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार, महादेबस्थान, धितुङ, सल्ले र अर्खौले गाबिसको दुर्छिम केन्द्र रहने हलेसी–तुवाचुङ नगरपालिका, लामीडाँडा, खार्पा, कुभिण्डे, नुनथला, बुईपा, बिजयखर्क र राजापानी गाबिसको महुरे नुनथला केन्द्र रहने महुरेगढी नगरपालिका, डुम्रेधारापानी, दुबेकोल, ज्यामिरे, माक्पा, महेश्वरी, जलेश्वरी, ऐसेलुखर्क, बाकाचोल र राखाबांदेल गाबिसको ऐसेलुखर्क केन्द्र रहने रावाथुम गाउँपालिका, दिप्सुङ, सुंदेल, फेदी, खार्ताम्छा, बासपानी, बाक्सिला र सप्तेश्वर गाबिसको बाक्सिला केन्द्र रहने केपिलासगढी गाउँपालिका, दिक्तेल नगरपालिका, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा, नेर्पा, पाथेका, खार्मी, जालपा र हौंचुर गाबिसको दिक्तेल केन्द्र रहने दिक्तेल नगरपालिका, बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, मात्तिम, टेम्मा, छितापोखरी–६, ७, ८ र ९ लाई समेटेर मात्तिम मानेभञ्ज्याङ केन्द्र रहने साकेला गाउँपालिका प्रस्ताव गरिएको छ ।
यस्तै, याम्खा, डाँडागाउँ, छोरम्बु, सछितापोखरी, बतासे, छितापोखरी–१, २, ३, ४ र ५ लाई समेटेर पञ्चमीबजार छितापोखरी केन्द्र रहने दिप्रुङ गाउँपालिका, लिकुवापोखरी, वाप्लुखा, सावाकटहरे, बड्कादियाले, चिप्रिङ, ईन्द्रेणीपोखरी, खोटाङबजार, सिमपानी र लिच्कीराम्चे गाबिसको खोटेहाङ गाउँपालिका तथा डम्बर्खुशिवालय, चिसापानी, काहुले, दिप्लुङ, बराहपोखरी, वोपुङ, देबिस्थान, पौवासेरा, मौवाबोटे, साउनेचौंर, सुन्तले र फाक्टाङ गाबिसको चिसापानी केन्द्र रहने जन्तेढुंगा गाउँपालिका प्रस्ताव गरिएको छ ।
स्थानीय तह १३ वटा बनाउन गरिएको प्रस्तावमा दुर्छिम केन्द्र रहने हलेसी–तुवाचुङ नगरपालिका, बुईपा केन्द्र रहने महुरेथुम गाउँपालिका, कुभिण्डेको हरमटार केन्द्र रहने रावा गाउँपालिका, ऐसेलुखर्क केन्द्र रहने ऐसेलुखर्क गाउँपालिका, बाक्सिला केन्द्र रहने केपिसाल गाउँपालिका, पाथेका केन्द्र रहने मेरुङ गाउँपालिका, दिक्तेल केन्द्र रहने दिक्तेल नगरपालिका, मात्तिम मानेभञ्ज्याङ केन्द्र रहने साकेला गाउँपालिका, पञ्चमीबजार सछितापोखरी केन्द्र रहने दिप्रुङ गाउँपालिका, सिमपानी केन्द्र रहने सिमपानी गाउँपालिका, खोटाङबजार केन्द्र रहने खोटाङ गाउँपालिका, सिन्ताङ साउनेचौंर केन्द्र रहने बाराहपोखरी गाउँपालिका र चिसापानी केन्द्र रहने जन्तेडुंगा गाउँपालिका सिफारिस गरिएको छ ।
छितापोखरी गाविस टुक्र्याइएयो
स्थानीय तहको प्रस्ताबित खाका निर्माणकाक्रममा खोटाङको छितापोखरी गाबिसलाई टुक्र्याइएको छ । स्थानीय तह पुनःर्संरचना प्राबिधिक सहयोग समितिको बैठकले गाउँपालिकाको भूगोललाई मिलाउनेक्रममा छितापोखरीको पाँच वटा वडालाई दिप्रुङ गाउँपालिकामा र चार वटा वडालाई टुक्र्याएर साकेला गाउँपालिकामा समाबेस गरेको छ ।
स्थानीय तहको संख्या ९ वटा र १० वटा बनाउन प्रस्ताव गरिएको दुबै खाकामा छितापोखरी–१, २, ३, ४ र ५ वडालाई दिप्रुङ गाउँपालिकामा र छितापोखरी–६, ७, ८ र ९ वडालाई साकेला गाउँपालिकामा गाभिएको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एबं स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए ।