खोटाङ पुष–१९,  खोटाङमा जारी अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगिता क्वाटर फाईनलमा प्रबेश गरेको छ । शनिवार उदघाटित खेलको दोश्रो दिनसम्म ७ खेल सम्पन्न हुँदा प्रतियोगिता क्वाटरफाईनलमा पुगेको हो ।

नेर्पा स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित संसारीडाँडा खेलमैदानमा जारी खेलको दोश्रो दिन सम्पन्न पाँच खेलमध्ये तीन खेलमा ट्राईब्रेकरमार्फत विजेता टीमको टुंगो लगाईएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, दिक्रेल रु.म. नगरपालिका–८ वुवालुङ र ५ नम्वर वडा लफ्याङ तथा खोटेहाङ गाउँपालिका–७ खोटाङवजार र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेबीचको खेल निर्धारित समयमा बरावरीमा टुंगिएको थियो ।

ट्राईब्रेकरमार्फत बाहुनीडाँडा, बुवालुङ र अर्खौले क्वाटर फाईनलमा प्रबेश गरेको छ । यस्तै, दोश्रो दिनको खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाले दिक्तेल रु.म. नगरपालिका–१२ जालपालाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अघि बढेको प्रतियोगिताका संयोजक बिरेन गुरुङले जनाउनुभयो । प्री क्वाटर फाईनलको अन्तिम खेलमा हलेसी तवाचुङ–५ दुर्छिमलाई ३–१ ले पराजित गर्दै दिक्तेल रुम नगरपालिका–१ दिक्तेलवजार क्वाटर फाईनलमा प्रबेश गरेको जनाईएको छ ।
भोजपुरका एक वडा समेत गरी २३ वडा सहभागी प्रतियोगिताको पहिलो दिनको खेलमा दिक्तेल रुम नगरपालिका–१४ बुइपाले सोही नगरपालिका–६ नेर्पालाई १–० गोल तथा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेबिरुद्द साकेला गाउँपालिका–२ रतन्छाले २–० गोल अन्तरको जीत निकाल्दै अगाडी बढिसकेका छन् ।

खेल तालिका(ट्राईसिट) अनुरुप) १६ टीम(वडा) क्वाटर फाईनलमा पुगेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका प्रथम टिमले नगद १ लाख १ हजार १ सय ११ र दोश्रो टिमले ५५ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई ३ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजक नेर्पा स्पोर्टस क्लवले जनाएको छ ।

तेश्रो दिनको पहिलो खेल विहान ८ बजेवाट बुइपा र सोल्माबीच हुने जनाईएको छ । ।