
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना नयाँ मन्त्री थपेका छन् । अहिलेका मन्त्रीमध्ये २ जनालाई हटाएका छन् भने केहीको जिम्मेवारी हेरफेर समेत गरेका छन् ।
ओलीले संसद विघटन गरेको ६ दिनपछि टोपबहादुर रायमाझीलाई उर्जा, जलस्रोत तथा सिँचाई, प्रभु साहलाई शहरी विकास, मणि थापालाई खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आलेलाई वन तथा वातावरण, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका छन् ।
यसैगरी, विमला विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रबार साँझ नै राष्ट्रपतिबाट शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्बाट हटाएका हुन् ।
भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनमा सरुवा गरिएको छ भने हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठ कानुन मन्त्रीका रुपमा सरुवा भएका छन् भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । भूमि सुधार मन्त्री पद्मा अर्याललाई भने कृषि मन्त्रीको जिम्मेवारी दिइएको छ ।