खोटाङ । मंसिर–२९, खोटाङ र उदयपुर जोड्ने सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । खोटाङलाई पुर्र्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत फोक्सिन्टारथित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।

वेलीव्रिज सञ्चालनमा आएपछि खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोडिएको छ । पुल गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ८४ लाखमा रेग्मी निर्माण सेवा गाईघाटले गत मंसिर ५ गतेदेखि जडान सुरु गरेको थियो । अस्थायी बेलिव्रिज आइतबारदेखि सञ्चालनमा ल्याइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो ।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज जडान गरिएको हो । १ सय १ किलोमिटर लामो बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो खुलेको छ ।

फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाईनको पुलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत ५ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।।