सरकारी स्वामित्वको कृषि बैंक नै स्थानीय तहमा जान आनाकानी

खोटाङ । सरकारी स्वामित्वको कृषि विकास बैंक नै स्थानीय तहमा जान आनाकानी गरिरहेको पाइएको छ । हरेक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंक पुर्याउने नेपाल सरकारको नीति अनुसार राष्ट्र बैंकले ०७४ असारभित्र अनिवार्य रूपमा सबै स्थानीय तहमा शाखा पुर्यााउन वाणिज्य बैंकलाई निर्देशन दिएको थियो । तर, कृषि विकास बैंकले शाखा पुर्याए जस्ते गरे पनि यतिका वर्ष बैंकिङ कारोबार नगरी बसेको हो ।

कृषि विकास बैंक आफैंले खोटाङको जन्तेढुंगा गाउँपालिका रोजेको थियो । तर, जन्तेढुंगामा कृषि विकास बैंकले आफ्नो शाखा खोलेर कारोबार गर्नुपर्नेमा कार्यालय स्थापना गरे जस्तो गरेपनि आजका मितिसम्म सेवा भने दिएको छैन । बैंकहरु सेवामुखी नभएर नाफामुखी भएको आरोप लागिरहेको अवस्थामा सरकारी स्वामित्वको कृषि बैंकले नै लामो समयदेखि स्थानीय तहमा गएर सेवा नदिएको पाइएको हो ।

खोटाङका सांसद विशाल भट्टराईले कृषि बैंकले चिसापानीमा बैंकको शाखा खोले जस्तो गरेपनि अहिलेसम्म सेवा नदिएको दुखेको पोखे । ‘मैले बैंकको अध्यक्ष, सिईओलाई पटक पटक बैंकिङ कारोबार सञ्चालन गर्नपर्यो भनेको छु, तर सञ्चालन नै भएको छैन ।’ उनले हाम्रोखोटाङ डटकमसँग भने ।
सांसद भट्टराईले बैंकले इन्टर नभएको लगायतका समस्या देखाएर सेवा दिनबाट पन्छिरहेको बताएका छन् । उनले सबै सरकारी सेवाहरु तथा इन्टरनेटबाट नै चल्ने नेपाल सरकारका सर्भरहरु चल्दा पनि बैंकले भने इन्टरनेट नभएको बहानाबाजी गरेको जनाए ।

गाउँपालिकाले पनि बैंकिङ कारोबार सुचारु गर्न बैंक समक्ष पटक–पटक आग्रह गरेको पाइएको छ । गाउँपालिकाले पछिल्लो पटक १२ मंसिरमा मात्र केन्द्रिय कार्यालयलाई पत्र लेख्दै बैंकिङ कारोबार सञ्चालन गरिदिन आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष शंकर बहादुर राई र प्रमुख प्रशाकीय अधिकृत गिरीराज भट्टराईद्धारा लिखित पत्रमा गाउँपालिका गठन भएको लामो समय व्यतित हुँदा समेत हालसम्म तोकिएको शाखाबाट कारोबार सञ्चालन हुन नसकेकोले अति नै कठिनाई भएकोले यथासिघ्र बैंकिङ कारोबार हुने व्यवस्था गरिदिन अनुरोध गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आफूले बैंकिङ कारोबार सञ्चालन गर्न पटक–पटक बैंकको जिम्मेवार व्यक्तिसँग कुरा गर्दा पनि बैंकिङ कारोबार सञ्चालन हुन नसकिरहेको जनाए । बैंकिङ कारोबार नहुँदा सेवाग्राहीले अनावश्यक झण्झट बेहार्नुपरेको उनी बताउाछन् । जन्तेढुंगा गाउँपालिकामा कृषि विकास बैंकले सेवा नदिएपछि जन्तेढुंगाबासीले अहिले खोटेहाङ गाउँपालिका पुगेर बैंकिङ कारोबार गर्न बाध्य भएका छन् ।