खोटाङ मंसिर–१६,

नौ महिना अघिदेखि वन्द गरिएको खोटाङस्थित प्रशिद्द हलेसी महादेवस्थानको मन्दिर आज मंगलवारदेखि खुल्ला गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकामा पर्ने मन्दिर खुल्ला गर्दा कोरोना भाईरस संक्रमण फैलन सक्ने भन्दै सर्वसाधारण लगायतलाई मन्दिर प्रबेशमा वन्देज गरिएको थियो ।

नगरपालिकाले सुचना जारी गर्दै निश्चित मापदण्ड पुरा गरी मन्दिर प्रबेश गर्न सकिने जनाएको हो । मुलुकको महत्वपूर्ण धार्मिकस्थलहरु केही दिन यता खुला गरिदै लगिएको हुँदा तोकिएको मापदण्ड पालना गर्ने गरी तीर्थालु भक्तजनहरुको लागि मन्दिर प्रवेशमा खुल्ला गरिएको मेयर ईवन राईले जनाउनुभयो ।

एक पटकमा मुल गेटबाट १० जनालाई मात्र प्रवेश गराइने, मन्दिर प्रवेश गर्दा भौतिक दुरी कायम गर्दै अनिवार्य मास्क प्रयोग गर्नु पर्ने लगायतको मापदण्ड वनाईएको मेयर राईको भनाई छ । हाल मन्दिर खुला गरिए पनि कोराना महामारीको प्रतिकूल असर देखिन आएमा स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै वेला मन्दिर प्रवेशमा रोक लगाइने समेत जनाइएको छ ।

यता, हलेसी महादेवस्थान विकास समितिले भने मन्दिर खुल्ला नभईसकेको जनाएको छ । नगरपालिकाले अनाधिकृत रुपमा मन्दिर खुल्ला गरिएको सुचना जारी गरेको भन्दै आउँदो शनिवारको वैठकवाट मात्र कहिलेदेखि खुल्ने भन्ने टुंगो लगाईने समितिका अध्यक्ष टंक राईले वताउनुभयो । नगरपालिकाले आफ्नो क्षेत्राधिकार वाहिर गएर सुचना जारी गरेको अध्यक्ष राईको भनाई छ ।

मन्दिर खुलाउने तयारी भने गरिएको विकास समितिले स्पष्ट पारेको छ ।।