खोटाङ कात्तिक–२७, खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलगी हुँदा भैंसी र बाख्रा जलेर मरेका छन् । बुधबार राती स्थानीय घनश्याम फुयाँलको गोठबाट सुरु भएको आगोले एउटा व्याउने भैंसी र तीन वटा बाख्रा डढेर मरेको हो ।

आगोले जल्दा एउटा पाडा बाँच्नै नसक्ने अवस्थामा पुगेको छ । गोठ तथा गोठसँगै रहेको मतान, पशु तथा चौपाय, मतानमा स्टोर गरेर राखिएको काठ लगायत जल्दा करिब साँढे १० लाख बराबरको क्षती भएको अनुमान गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।

भैंसी बाँधेर राखिएको ठाउँबाट आगो सुरु भएको देखिएको छ । यद्यपी आगलागीको कारण खुल्न सकेको छैन । जस्ताको छाना भएको घर भने जोगाइएको वडाध्यक्ष शिव फुयाँलले सुनाउनुभयो ।

वर्ष दिनअघि मात्र विद्युत सर्ट भएर माणिकलाल प्रधानको घरमा आगलागी हुँदा सोही घरमा रहेको फुयालको स्टेशनरी पसल पूर्णरुपमा जलेको थियो । गत मंसिर ३० गते भएको आगलागीमा फुयाँलको १५ लाख बराबरको क्षती भएको थियो ।।