खोटाङ कात्तिक–९, खोटाङलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको दश दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम सुरु गरिएको हो । 
आगामी १८ महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभीले उक्त सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ । सडकको बिस्तृत सर्भेक्षणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चौकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने सडक कालोपत्रेको लागि प्रारम्भिक चरणको काम तिहारपछि लगत्तै सुरु हुने निर्माण कम्पनीका निर्देशक कल्याण खत्रीले बताउनुभयो । नाली, रिटेनिङ वाल सहित छ दशमलव २५ मिटर चौंडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे गर्ने गरी काम अघि बढाइएको हो । 
उक्त सडकलाई प्राधिकरणले प्राथमिकताको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । 
गत असोज–१ गते सम्झौता भएको सडकको कालोपत्रेको काम २०७६ साल चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने प्राधिकरण र निर्माण कम्पनीबीच भएको सम्झौलामा उल्लेख छ । जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रे गर्न लागिएको सबैभन्दा पहिलो हो । 
दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही भाग ट्र्याक खोलिए पनि बीचमा ट्र्याक जोडिन बाँकी छ । ट्र्याक खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खोल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने जनाइएको छ । 
सगरमाथा लोकमार्गसँग जोडिने उक्त सडकको रेग्मीटार–फोक्सिङ्टार र रेग्मीटार–महुरे कालोपत्रे भइरहेको छ ।