
खोटाङ, ६ असोज । गाउँ नजिकैबाट पहिरो झर्न थालेपछि खोटाङमा ९ घर विस्थापित भएका छन् । हप्ता दिनदेखि लगातार परेको वर्षाका कारण पहिरोले गाउँ नै तान्न थालेपछि सुन्तले–४ का १६ घरमध्ये ९ घर बिस्थापित भएका हुन् ।
पहिरोले घर तान्न थालेपछि ९ घरका ६६ जनालाई स्थानीय जनचेतना प्राविमा सारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए । “कुनै बेला त्यो गाउँ नै बग्न सक्छ ।” उनले भने, “स्थानीयको सहयोगमा बन्दोवस्तीको सामानसहित उनीहरुलाई सुरक्षित स्थानमा सारेका छौं ।”
पहिरोबाट चन्दीमायाँ मगर, कर्णबहादुर मगर, कुलबहादुर मगर, बिष्णुमायाँ मगर, गेदे मगर, छबिलाल मगर, रणबहादुर मगर, मैतसिं तामाङ र गोबिन्द तामाङको परिवार विस्थापित भएका हुन् । उनीहरुलाई प्रहरी र स्थानीयले घरमा भएका सामानसहित विद्यालयमा सारेको हो ।
व्यवस्थापन समितिका अध्यक्ष रहेका स्थानीय पदम मगरका अनुसार गाउँको उत्तरतर्फबाट करिब ५०० मिटरमुनिबाट पहिरो झरिरहेको छ । पहिरोबाट बिस्थापित बनेका परिवारको सुरक्षा र आवास व्यवस्थापनका लागि छिमेकी गाविस फाक्टाङस्थित हुक्नाजोर प्रहरीचौकीबाट टोली खटाइएको प्रनाउ प्रधानले जानकारी दिए ।
पहिरोमा भूपजीत तामाङ, दन्ड तामाङ, डम्बर तामाङ, सार्के तामाङ, शेरबहादुर तामाङ, शिव तामाङ, पदम तामाङ र मानबहादुर मगरको घर समेत पहिरोको जोखिममा परेको स्थानीय सामाजिक सरस्वती बञ्जराले बताइन् । सामाजिक परिचालकको काम गर्दै आएकी बञ्जराका अनुसार स्थानीय सुनकोसी नादीबाट पहिरो सुरु भएको हो ।
जिल्लाको अन्य ठाउँमा समेत पहिरोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । पहिरोले पु¥याएको यकिन बिबरण आउन बाँकी रहेको जिल्ला दैविप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।