खोटाङ कात्तिक–३ । थप अर्को जना कोरोना संक्रमित भेटिएपछि खोटाङको साकेला गाउँपालिका–२ रतन्छालाई दोश्रोपल्ट शिल गरिएको छ । काठ्माण्डौंबाट आएका एक युवालाई कोरोना संक्रमण पूष्टी भएपछि गत असोज २६ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि शिल गरिएको रतन्छामा थप अर्को जना संक्रमित फेला परेपछि शिल अवधि हप्ता दिनका लागि लम्व्याइएको हो । रतन्छालाई शिल गरिएको अवस्थामा पुःन अर्को संक्रमित फेला परेपछि आइतबारदेखि आगामी कात्तिक ८ गतेसम्मका लागि शिल अवधि थप गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले बताउनुभयो ।

युवालाई संक्रमण पूष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा १९ जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएको थियो । त्यसमध्ये तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अर्को जना महिला संक्रमित फेला परेपछि कट्यान्ट ट्रेसिङका आधारमा अन्य व्यक्तीको पिसिआर परीक्षणका लागि पठाउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष खड्काले जनाउनुभयो ।

काठ्माण्डौंबाट आएका युवालाई संक्रमण पूष्टी भएपछि उनकै सम्पर्कमा रहेका व्यक्तीको नमूना संकलन गरेर असोज २७ गते बिराटनगर पठाइएकामा शनिबार अर्को एक जनालाई संक्रमण पूष्टी भएको हो । रतन्छामा संक्रमित थपिएपछि पहिलोपल्टको शिल अवधि नसकिँदै लगातार दोश्रोपल्टका लागि शिल थप भएको हो ।

साकेला गाउँपालिकामा संक्रमितको संख्या तीन पुगेको छ । यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई जनालाई संक्रमण पूष्टी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका एक जना र एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको हो ।