रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र विपन्न परिवारलाई चाड मनाउन राहत सामग्री उपलब्ध गराइएको छ । नजिकिँदै गरेको हिन्दु नेपालीहरुको महान चाड दशैँतिहार तथा छट पर्व मनाउन गाउँपालिकाले प्रति घर परिवार ३० किलोग्राम चालम, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराएको हो ।

गाउँपालिकाभित्र बसोबास गर्दै आएका ४१५ घर एकल महिला, दलित र गरिब परिवारलाई रु नौँ लाख ६३ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “दैनिक रुपमा ज्यालादारी काम गरेर जीवन निर्वाह गर्दै आएका परिवारलाई खाद्यान्न अभावमा चाड मनाउन समस्या हुने देखिएको छ”, उहाँले भन्नुभयो, “वर्षदिनमा एक पटक आउने चाड मनाउन समस्यामा परेका परिवारलाई स्वीस सरकारको आर्थिक सहयोगमा राहत सामग्री उपलब्ध गराइएको हो ।”

वडा कार्यालयबाट छनोट भएर आएका लक्षित वर्गलाई वितरण गरिने राहत सामग्री खरिद तथा वितरणमा अनियमितता हुन नदिन यस पटक गाउँपालिकाले कुपन सिस्टम लागू गरेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो । “वडाबाट छनोट भएर आएका एकल महिला, दलित र गरिब घर परिवारलाई गाउँपालिकाको तर्फबाट कुपन उपलब्ध गराइन्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले उपलब्ध गराएको कुपन लगेर जाने व्यक्तिलाई तोकिएको पसलले राहत सामग्री दिने व्यवस्था मिलाइएको छ ।”

राहत सामग्री वितरण गर्नुअघि गाउँपालिका तथा घरेलुमा आधिकारिक दर्ता भएर सञ्चालनमा रहेका होलसेल तथा खुद्रा पसलसँग सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । लक्षित वर्गलाई राहत सामग्री उपलब्ध गराउने होलसेल तथा खुद्रा पसललाई गाउँपालिकाले बैङ्कमार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिनुभयो ।

चाड मनाउनका लागि गाउँपालिकाले आ–आफ्नै वडामा सञ्चालित पसलमार्फत निःशुल्क दैनिक उपभोग्य सामग्री उपलब्ध गराएपछि बनीबुतो गरेर जीवन निर्वाह गर्दै आएका स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । गाउँपालिकाले वडा नम्बर–१ कुभिण्डेका ७०, वडा नम्बर–२ खार्पाका ६५, वडा नम्बर–३ लामीडाँडाका ७०, वडा नम्बर–४ धारापानीका ६८, वडा नम्बर–५ दुवेकोलका ५५ र वडा नम्बर–६ हौँचुरका ६५ घर परिलाई राहत सामग्री उपलब्ध गराएको हो ।
यसैबीच, गत साउन–१८ र १९ गते गएको बाढीपहिरोका कारण अन्नबाली बगेपछि पीडित बनेका २२ घर परिवारलाई समेत राहत सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई पनि प्रति घर परिवार ३० किलोग्राम चालम, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराइएको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो ।

लामो समयसम्म परेको अविरल वर्षापछि झरेको बाढीपहिरोले वडा नम्बर–१ कुभिण्डे, वडा नम्बर–४ धारापानी र वडा नम्बर–५ दुवेकोलमा ठूलो क्षति गरेको थियो । लोचाखोला थुनिएर झरेको बाढीपहिरोले स्थानीय कृषकले लगाएका सयौँ मुरी उत्पादन हुने धान बालीमा क्षति गरेको हो ।