खोटाङ असोज–२४,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को मसला पिस्ने लोहोरो ढुंगा प्रहारवाट मृत्यू भएको छ । घरायसी विवादका क्रममा श्रीमान ४२ वर्षिय डम्बरबहादुर गिरीले प्रहार गरेको मसला पिस्ने लोहोरो ढुङ्गावाट गम्भीर वनेकी ज्ञानकुमारीको मृत्यू भएको हो ।

घाईंतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लाने क्रममा असोज २३ गते दिउसो बाटैमा मृत्यु भएको हो । ज्ञानकुमारीलाई काठमाडौँ लानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाई पदम पुरीले जानकारी दिनुभयो ।

गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यू भएपछि शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । घटनाको बारेमा टोली परिचालन गरेर अनुशन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

आफूले प्रहार गरेको लोहोरो ढुंगाले श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रहरीले जनाएको छ । फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट प्रहरी टोली परिचालन गरिएको डिएसपी चिमरियाले बताउनुभयो ।

घटना भएकै बिहान करीब पाँच बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नुका साथै लोहोरो ढुंगा प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै प्रहरी चौकी समेत रहेको छ ।

घरायसी झगडामा आमाको मृत्यु हुनुका साथै बुबा फरार भएपछि गिरी दम्पतीको पाँच छोराछोरीको बिचल्ली भएको छ । उनीहरुको तीन छोरी र दुई छोरा छन् । ।