खोटाङ ८ असोज
उदयपुरको हर्देनी–२ ठाँटीस्थित लप्सेभीरमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि तराईबाट खोटाङमा दैनिक उपभोग्यबस्तु ल्याउन सकिएको छैन । 
कटारी–घुर्मी सडक खण्डमा पर्ने सडक वर्षाका कारण पहिरोले अवरुद्ध बनाएपछि पाँच दिनयता जिल्लामा चामल, नुन, तेल, चिनी, चिउरा, दाल, पिठो, ग्याँस, डिजेल, पेट्रोल लगायतका दैनिक उपभोग्यबस्तु भित्र्याउन नसकिएको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । 
पार गर्नुपर्ने बाटो बिग्रिएका कारण उपभोग्य सामान ढुवानी गर्न सकिएको छैन । सडक डिभिजन कार्यालय लहान र प्रहरीको टोलीले लप्सेभीरको सडकको अवरोध हटाउने प्रयास जारी रहेपनि वर्षाका कारण पहिरो क्रर्नेक्रम नरोकिएकाले समस्या आएको ईलाका प्रशासन कार्यालय कटारीले जनाएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बूमा अधिकांश दैनिक उपभोग्यबस्तु पुर्वी तराईबाट भित्रिने गरेको छ । राजधानी काठ्माण्डौंबाट भने जुत्ता, चप्पल र रेडिमेड कपडा मात्र जिल्लामा आउने गरेको छ । 
पहिरोका कारण ढुवानी गर्ने व्यवस्था नहुँदा नजिकिँदै गरेको दशैंतिहारकालागि आवश्यक उपभोग्यबस्तु अभाव हुने खतरा बढेको छ । चाडपर्वकालागि तेल, चिनी र चिउराको अभाव निम्तिने खतरा बढेको बाणिज्य संघका अध्यक्ष लयालुले जनाए ।