खोटाङ  कात्तिक–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरीमा अझै पनि केन्द्रीय विद्युत प्रशारण लाइन पुगेको छैन । उक्त नगरपालिका भित्रका करिब दुई तिहाई अर्थात ६६ प्रतिशत घरधुरीले मात्र हाल केन्द्रीय विद्युत उपभोग गरिरहेका छन् ।
दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टीतेल तथा टुकी प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार गरेको तथ्याङ्क अनुसार सात प्रतिशतले सोलार र एक प्रतिशतले बायोग्याँस प्रयोग गर्दै आएका छन् । 
पन्ध्र वडा रहेको नगरपालिकाको वडा नम्बर १ र १५ मा शतप्रतिशत केन्द्रीय विद्युत प्रशारण भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर २ मा ९३, ३ मा ९६, ४ मा ९८, ५ मा ९८, ६ मा ९९, ७ मा ८५, ८ मा ९०, १३ मा ९८ प्रतिशत घरधुरीमा विद्युत विस्तार भएको पाइएको छ । 
वडा नम्बर ९, १०, ११ र १२ मा अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छैन । स्थानीय लघु जलविद्युत प्रशारण लाइनबाट वडा नम्बर ९ मा १६, १० मा ६५, ११ मा ७० र १२ मा शतप्रतिशत विद्युत पुगेको पाइएको छ । 
जिल्लामा केन्द्रीय विद्युत विस्तार भएको १६ वर्ष बितिसक्दा पनि सबै वडामा विद्युत सेवा नपुग्नुमा सम्बन्धित निकायको ध्यान नपुगेको उपभोक्ताको आरोप छ । विद्युत विस्तार भएको ठाउँमा पनि नियमित सेवा नहुँदा उपभोक्ता हैरानीमा परेका छन् । 
आगामी दुई वर्षभित्र सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गर्ने तयारीका साथ नगरपालिका अगाडी बढेको नगर उपप्रमुख वीणादेवी राईले बताउनुभयो । नगरपालिकाभित्रकै कतिपय वडामा विद्युत प्राधिकरण आफैले विद्युत विस्तार गरिरहेको पनि उपप्रमुख राईले जानकारी दिनुभयो । 
साप्सुखोलामा निर्माणाधीन सात दशमलव १५ मेगावाटको विद्युत समेत दुई वर्षभित्र उत्पादन हुने भएकाले दुई वर्षपछि नगरपालिकाभित्र विद्युत आपूर्ती बन्द नहुने नगरपालिकाले जनाएको छ । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत प्रशारण सुरु गरिएको थियो ।