खोटाङ असोज–५ खोटाङस्थित खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि स्थानीयले खुशियाली मनाएका छन् । अन्धकारमा बस्दै आएका वाप्लुखावासीले विद्युत आएपछि साँस्कृतिक झाँकी तथा भोजभतेरसहित खुशीयाली मनाएका हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख र नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको एक करोड रुपैंयाँ बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरिएको हो । विद्युत विस्तार भएपछि आईतवार तामझामका साथ औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
गाउँपालिकाले वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घर स्थानीय बासिन्दाको घरमा विद्युत विस्तार गरेको छ । ४ सय २५ घरधुरी स्थानीयको बसोबास रहेको वाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष दिपेन थुलुङले बताउनुभयो ।

विस्तार गरिएको केन्द्रीय प्रशारण लाइनको विद्युत परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख प्रदिपकुमार राई र उपप्रमुख कविता राईले रिवन काटेर औपचारिक उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाले हाल केन्द्रीय प्रशारण लाइनको विद्युतको पहुँच पुग्न बाँकी तीन वडामा विद्युतीकरणको कामलाई तीव्रता दिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । ।