
खोटाङ असोज–२, प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा जिल्ला प्रहरी कार्यालय खोटाङलाई तीन सय थान फेस सिल्ड प्रदान गरिएको छ । कोरोना महामारीका बीचमा ड्यूटीमा खटिने प्रहरीका लागि फेस सिल्ड प्रदान गरिएको हो ।
प्रतिनिधिसभा सदस्य भट्टराईले विभिन्न व्यक्तीबाट फेस शिल्ड जुटाएर जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियालाई हस्तान्तरण गर्नुभएको हो । कोरोना कहरकाबीचमा नागरिकसँगको प्रत्यक्ष सम्पर्कमा पुग्ने र ड्युटीमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर फेस सिल्ड जुटाई प्रदान गरिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले पनि केही समयअघि प्रहरीलाई ६० थान फेस शिल्ड उलपव्ध गराएको थियो । आगामी दिनमा फ्रन्टलाईनमा ड्यूटीमा खटिएका तथा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा पुग्ने प्रहरीले मास्क सहित फेस शिल्ड लगाउने डिएसपी चिमरियाको भनाई छ । यो बेलामा जनतालाई संक्रमणबाट जोगाउन र आफु जोगिनका लागि फेस शिल्ड प्रभावकारी हुने अपेक्षा राखिएको चिमरियाले सुनाउनुभयो ।