खोटाङ, असोज–१४। खोटाङको दुर्छिममा ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माणकाक्रममा सहयोग गर्ने चन्दादाताको सम्मानमा शिलालेख स्थापनाको पहल थालिएको छ । ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माणकाक्रममा आर्थिक सहयोग गर्ने सहयोगीको नाममा शिलालेख स्थापनाको पहल थालिएको हो ।
२०७२ साल जेठ–९ गते सम्पन्न गरिएको दुर्छिम–१ छापडाँडा (दलश्वर चोक)को बरभञ्ज्याङदेखि साल्तेम्मा, चुमाखु, हात्तीढुंगा, गणेशटार, वानाम्ला हुँदै सुनकोशी किनारको बतासेघाट जोड्ने १३.२७ किलोमिटर सडक निर्माणकाक्रममा ५ हजारभन्दा बढि आर्थिक सहयोग गर्ने दाताको नाम शिलालेखमा राख्ने तयारी गरिएको छ । शिलालेखमा सडक निर्माणकाक्रममा ५ हजारभन्दा बढि आर्थिक सहयोग गर्ने १७४ जना चन्दादाताको नामावली समाबेस गरिने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष केलवनारायण राईले बताउनुभयो । २०६९ साल चैत्र–५ गते निर्माण सुरु गरिएको सडककालागि ५ हजारभन्दा कम आर्थिक सहयोग गर्ने दाताको नामावली भने ‘होलेसुङ–जनकराज राई मार्ग स्मारिका–२०७३’ मा प्रकाशित गरिएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक खण्डमा पर्ने दुर्छिमको दलस्वर चोकबाट छुटेको सो सडक करिब ५८ लाखमा पूरा भएको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ । करिब चार सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो । समाजसेबी जनकराज राईले मात्र १७ लाख ४ हजार २३७ रुपैयाँ सहयोग गरेका थिए । सडक निर्माणमा हातेमालो गर्नेक्रममा स्थानीय दलस्वर राईले ३ लाख ६० हजार आर्थिक सहयोग गरेको निर्माण उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणकालागि गाविसबाट २ लाखको हाराहारीमा मात्र प्राप्त भएको छ । बाँकी रकम करिब ३ सय घर उपभोक्ताबाट गच्छेअनुशार जुटाइएको हो । सडक निर्माण अभियान सफल बनाउनकालागि गाबिसमा कार्यरत कर्मचारी, बिदेशी लाहुरे तथा बिदेशमा कार्यरत दुर्छिमका युवाले पनि एक–एक महिनाको तलव दिएर सहयोग गरेका थिए । रकम जुटाउनकालागि स्थानीयले राजधानीमा देउसीभैली समेत खेलेका छन् ।
‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित समुदायले निर्माण गरेको सडकले क्षेत्रीय सडकको मान्यता पाइसकेको छ । ‘सरकार तथा विदेशी दाताबिना पनि बिकास गर्न सकिन्छ’ भन्ने उदाहरण बनेको सडक पूर्वी तराईदेखि पर्यटकीयस्थल हलेसी हुँदै सगरमाथासम्मको छोटो हाइवे बन्ने निर्माण समितिको दाबी छ । आफ्नो बलबुतोले बनेको कच्ची सडकलाई सरकारले पिचको व्यवस्था मिलाउनुपर्ने स्थानीयको माग छ ।
हलेसीसँग जोडिएको दुर्छिम गाबिसबाट दक्षिणतर्फ सुनकोसी हुँदै उदयपुर तथा उत्तरतर्फ मंगलटार, दुधकोसी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने निर्माणाधिन सडकले दुर्छिमकै होलेलुङको भग्नाबशेष बस्ती र चिहानस्थल समेत छोएको छ । ‘पूरानो हलेसी’कारुपमा चिनिने होलेलुङको भग्नाबशेष स्थललाई पर्यटकीय स्थलकारुपमा बिकास गर्नकालागि समेत सडकले योगदान पु¥याउने अपेक्षा गरिएको स्थानीय तामन राईले बताउनुभयो ।