खोटाङ भदौ२७,  वार्षिक रुपमा सञ्चालन हुँदै आएको यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करणलाई अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले राष्ट्रव्यापी रुपमा सञ्चालन गर्दै आएको प्रतियोगितालाई यो वर्ष विश्वव्यापी अनलाईन रुपमा सञ्चालन गर्ने तयारी गरिएको हो ।

सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको प्रतियोगिताको यस संस्करणलाई कोरोनाका कारण विश्वव्यापी अनलाईन संस्करण वनाउने तयारी गरिएको हो । अनलाईनमार्फत विश्वभर रहेका किरात राई समुदायका गायन प्रतिभाले यो संस्करणमा सहभागिता जनाउन सक्ने प्रतियोगिताको प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईले वताउनुभयो ।

किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्दन तथा उत्थानको लागि आयोजना हुँदै आएको प्रतियोगिता अन्तर्गत यस श्रृंखलाका लागि आवश्यक नियमहरु सार्वजानिक गरिएको छ ।

सार्वजानिक गरिएको सर्त तथा नियमानुसार सहभागी प्रतियोगी किरात राई समुदायका हुन अनिवार्य छ । प्रतियोगीले प्राकृतिक अर्थात वास्तविक गायकी भएको आवाजसँगैको एमपीफोर फाईल भिडियो आयोजकको ईमेल ठेगाना [email protected] मा २०७७ असोज १७ गतेभित्र पठाईसक्नुपर्ने सर्तमा उल्लेख छ । उत्कृष्ट ३० प्रतियोगीको भिडियोलाई संस्थाको  Kirat Rai Kalakar नामक युट्युव च्यानलवाट असोज १७ गते नै सार्वजानिक गर्दै ह्वाट्स एप गु्रपमा जोडी अर्को चरणको लागि ट्रयाक उपलव्ध गराउने जनाईको छ ।

साप्ताहिक रुपमा ३० जनावाट २० र २० वाट १० जनामा सिमित गर्दै पाँचौ हप्ता अन्तिम चरणको प्रतिस्पर्धा गराईने आयोजकले सार्वजानिक गरेको नियममा जनाईएको छ । किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा अनुशासन तथा गायन र किरात राई समुदायप्रतिको प्रतिवद्दतालाई समेत मूल्याङ्कन गरिने प्रचारप्रसार विभागका संयोजक राईले सुनाउनुभयो ।

अन्तिम प्रतिस्पर्धाका लागि आयोजकको तर्फवाट प्रदान हुने अनलाईन प्रशिक्षणहरुमा प्रतियोगीहरु अनिवार्य सहभागी वन्नुपर्ने नियम राखिएकोमा प्रतियोगीको गायकी तथा स्वर सुहाउँदो गीत आयोजकले छनौट गरिदिन सक्ने समेत उल्लेख छ ।

प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताउनुभयो । कार्यक्रम तथा नियमहरु सँगै छैंटौ संस्करण सफल पार्न वाँडफाँड गरिएको जिम्मेवारी र व्यक्ति समेत  सार्वजानिक गरिएको छ । सार्वजानिक जिममेवारी अनुसार यस संस्करणको संयोजनका लागि गायक तथा संगीतकार राई नविनलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष राईको भनाई छ ।

यलम्वर संगीतको पहिलो संस्करणको उपाधी सागर संसार राईले जित्नुभएको थियो । यस्तै, दोश्रो संस्करण निश्चल राई र तेश्रो संस्करणमा नम्रता राईको नाममा प्रथम उपाधी गएको थियो । किरात राई समुदायका प्रतिभाहरुका लागि प्लेटफर्मका रुपमा स्थापित हुँदै आएको प्रतियोगितको चौथो संस्करणमा सोनाम राई प्रथम वन्नुभएको थियो । गत वर्ष अर्थात पाँचौं संस्करणमा भने अम्विका राईले प्रथम स्थान ओगट्नुभएको थियो ।।