
खोटाङ भदौ–१९, खोटाङस्थित त्रिधार्मिक स्थल हलेसीमा होमस्टेको तयारीलाई तीव्र वनाईएको छ । हिन्दु, वौद्द तथा किरात धर्मको संगमस्थल हलेसी क्षेत्रमा देशविदेशवाट घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो मल्खुमा होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।
किरात लगायत अन्य जातजाति तथा समुदायमा आधारित छुट्टाछुट्टै होमस्टेको तयारी गरिएको सो क्षेत्रको माथिल्लो माल्खुमा भने हिन्दू समुदायमा आधारित होमस्टे सञ्चालनको अन्तिम तयारी गरिएको हो । व्यावसायिक रूपमा गाई, स्थानीय जातका कुखुरा, टर्की, परेवालगायत पशुपक्षी पालन तथा तरकारी खेती गर्दै आएका सुवीन्द्र गिरीको अध्यक्षतामा समिति गठन गरेर हिन्द् होमस्टे सञ्चालनसम्बन्धी तालीम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको हो ।
२२ घर क्षेत्री/बाहुन समुदायको बाहुल्यता रहेकाले माथिल्लो माल्खुमा हिन्दू संस्कृति अनुसार बालन, संगिनी लगायतका नाच सिक्ने/सिकाउने अभ्यास समेत भइरहेको होमस्टेका सञ्चालक सुविन्द्र गिरीले बताउनुभयो । हिन्दू संस्कारमा आधारित होमस्टेमा हलेसी बजारस्थित होटेल तथा लजमा बस्ने पाहुनालाई समेत सांस्कृतिक कार्यक्रम हेर्न टिकट लिएर प्रवेश गर्न दिने व्यवस्था गरिने जनाईएको छ । हलेसीको मुख्य वजार क्षेत्रवाट कच्चि सडकको प्रयोग गरी करिव १० मिनेटमा माथिल्लो माल्खु पुग्न सकिन्छ । हलेसी तुवाचुङ नगरपालिकाको समन्वय तथा हलेसी महादेवस्थान विकास समितिको प्राविधिक सहयोगमा उक्त होमस्टे सञ्चालन गर्न लागिएको हो ।
नगरपालिका र विकास समितिकै पहल तथा सहयोगमा तल्लो माल्खु र माथिल्लो ऐसेलुखर्कमा किरात मौलिक संस्कृतिमा आधारित होमस्टेको तयारी गरिएको हलेसी महादेवस्थान विकास समितिको अध्यक्ष टंक राईले जनाउनुभयो । जसको तयारीलाई समेत तीव्रता दिईएको अध्यक्ष राईको भनाई छ ।