खोटाङ, असोज २० । जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरीचौकीलाई निशुल्क जग्गा प्रदान गर्ने पाँच जग्गादातालाई सम्मान गरेको छ । ६१ औं प्रहरी दिबसको अवशरमा बिहिबार कार्यालयले प्रहरीचौकी भण्डारेघाट बतासे र प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई निशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरेको हो । प्रहरीचौकी भण्डारेघाटलाई निशुल्क जग्गा दिने स्थानीय श्यामलाल श्रेष्ठ, दानबहादुर भुजेल र रत्नबहादुर भुजेल तथा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई निशुल्क जग्गा प्रदान गर्ने ईन्द्रमायाँ कठेत र दुर्गानारायण श्रेष्ठलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । जग्गादातालाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सम्मानपत्र प्रदान गरे । 
कार्यक्रमकै अवशरमा अमर प्रहरीका परिवार सरस्वती ठाकुर, कमलादेबी आचार्य, लक्ष्मी श्रेष्ठ र रामबहादुर कट्वाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कार्कीले शहिद प्रहरीकै बलीदानका कारण राष्ट्र र राष्ट्रियता जोगिएको उल्लेख गरे । कार्यक्रममा दलकातर्फबाट राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठ, सामुदायीक बिकास सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले शुभकामना दिएका थिए । 
प्रहरी दिबसमा बोल्दै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधान ।