काठमाडौं । खोटाङका दुई व्यक्तित्व हालै नेपाल सरकार तथा अर्धन्यायिक दुई निकायमा नियुक्त भएका छन् ।

युवा तथा साना ब्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोका नियुक्त भएका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका रोकालाई नेपाल सरकार मन्त्रीपरिषद बैठकले गत सोमबार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो ।

उनले हालै चीनको राजधानी बेइजिङ्गबाट राजनीतिक अर्थशास्त्रमा बिद्याबारिधी गरेर डाक्टरको उपाधी हासिल गरेका छन् । उनीसँग जनसंख्या अध्ययन, समाजशास्त्र, मानवशास्त्र, इन्टरनेशनल इकोनोमिक कोअपरेशन र राजनीतिकशास्त्र सहित ४ वटा विषयमा स्नात्तकोत्तर हासिलताको अनुभव समेत छ ।

उनी तत्कालिन नेकपा एमाले केन्द्रिय संघीयता मामिला विभागका सदस्य समेत रहेका थिए । उनले नेपालमा राज्य पुन संरचनाको बहस पेचिलो बनिरहेको अवस्थामा ‘नेपालमा राज्य पुनसंरचना र संघीयताको बहस’ नामक पुस्तक सार्वजनिक गरेका थिए । निक्कै अध्ययन र अनुसन्धानमा आधारित उक्त पुस्तकले राज्य पुनसंरचना र संघीयताको विषय टुंगो लगाउन पनि योगदान गरेको थियो ।

डा. रोकाका विभिन्न विषयमा आधा दर्जन भन्दा बढी जर्नलहरु समेत प्रकाशित भइसकेका छन् । डा. रोकाले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट विद्याभूषण (क) पदक समेत पाइसकेका छन् ।

काउन्सिलमा कलमजिबी पाण्डे

प्रेस जगतको मर्यादा निरुपण, अनुगमन र मूल्यांकन गर्ने अर्धन्यायिक र स्वायत्त स्वरुपको प्रेस काउन्सिल नेपालको सदस्यमा बिगत २५ बर्ष देखी निरन्तर पत्रकारीतामा अनबरत रुपमा कलम चलाएका बरिष्ठ पत्रकार दिपक पाण्डे नियुक्त भएका छन् ।

खोटाङको डुम्रेधारापानीमा जन्मिएका पाण्डे चार वर्षका लागि काउन्सिलको सदस्य पदमा नियुक्त भएका हुन् । उनी प्रकाश साप्ताहिकका सम्पादक एवम् जनता टेलिभिजनका सल्लाहकार सम्पादक समेत छन् ।

उनी नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय सदस्य एवम् लेखा समितिका संयोजक समेत हुन् । उनले हालै मात्र प्रेस काउन्सिल शुद्धिकरणको अभियान सञ्चालन गर्दै काउन्सिलका कमीकमजोरी सच्याउन बाध्य पारेका थिए ।