

खोटाङ कात्तिक–११, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत प्रशारण लाइन उपभोगवाट वञ्चित रहेका छन् । दश हजार ५० घरधुरी रहेको नगरपालिकाका ५६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत उपभोग गर्न पाएका छन् ।
नगरपालिकाभित्र २१ प्रतिशत घरधुरीले मट्टीतेलको टुकी, सात प्रतिशतले सोलार, एक प्रतिशतले वायोग्याँस र १५ प्रतिशतले स्थानीय लघुजलविद्युतको उज्यालो प्रयोग गरिरहेका छन् । केन्द्रीय प्रशारण लाईन विस्तार नहुँदा सूचना, सञ्चार तथा प्रविधिको प्रयोगवाट समेत वञ्चित हुनु परेको स्थानीय वताउँछन् ।
पन्ध्र वडा रहेको नगरपालिकाको वडा नम्बर १ र १५ मा शतप्रतिशत केन्द्रीय विद्युत प्रशारण भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ९, १०, ११ र १२ मा अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छैन । अन्य वडाहरुमा समेत सतप्रतिशत केन्द्रीय विद्युत विस्तार हुन सकेको छैन ।
स्थानीय लघु जलविद्युत प्रशारण लाइनबाट वडा नम्बर ९ मा १६, १० मा ६५, ११ मा ७० र १२ मा शतप्रतिशत विद्युत पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
सम्वन्धित निकायले ध्यान नदिएकै कारण जिल्लामा केन्द्रीय विद्युत विस्तार भएको १६ वर्ष बितिसक्दा पनि सबै वडामा विद्युत सेवा नपुगेको स्थानीयको गुनासो छ । विद्युत विस्तार भएका क्षेत्रमा पनि नियमित सेवा नहुँदा उपभोक्ता हैरानीमा परेका छन् ।
आगामी दुई वर्ष्भित्र सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गर्ने तयारीका साथ नगरपालिका अगाडि बढेको नगर उपप्रमुख वीणादेवी राईले बताउनुभयो ।