
खोटाङ । स्थानीय संसाधनको सदुपयोग र आर्थिक विकासका लागि नीतिगत निर्णयको मागसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाण्डौको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन् । विभिन्न सात बुँदे मागसहित आइतबार बिहानबाट सुरु सत्याग्रह गरिएको हो ।
सत्याग्रहका लागि कपाल मुण्डन गरी सिंहदरबारको दक्षिण गेट अगाडि पुगेका मेयर भट्टराईलाई निषेधित क्षेत्र भन्दै प्रहरीले हटाएपछि माइतीघर मण्डलामा पुगेर सत्याग्रह सुरु गरेका हुन् । स्थानीय तहका जनप्रतिनिधिका रुपमा मेयर भट्टराई संघीय सरकारप्रति कानुन निर्माण गरी कार्यन्वयका लागि विरोध स्वरुप सत्याग्रह उत्रिएका हुन् ।
खेर गइरहेका बाँस तथा अन्य स्थानीय कच्चा पदार्थको प्रयोगलाई बढावा दिएर उद्योग स्थापना गर्दै आर्थिक आम्दानी वृद्धि गर्ने नीति निर्माणका लागि संघीय ऐन निर्माण र कार्यन्वयन गर्न दबाव दिन सत्याग्रह सुरु गरेको मेयर भट्टराईले बताएका छन् । नेपालका अधिकांस क्षेत्रमा प्रशस्त मात्रामा पाइने तर सदुपयोग नहुँदै खेर गइरहेका प्राकृतिक संसाधनहरूको व्यावसायिक उपयोगको आवश्यकतालाई नितिगत रुपमा समावेश गर्न मेयर भट्टराईको माग छ ।
बाँसजस्तो छिटो बढ्ने र बहुउपयोगी वनस्पतिको औद्योगिक उपयोगले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने भएकाले आवश्यक नीतिगत निर्णय तथा कानुनी व्यवस्थाका लागि पहल कदमी लिन मेयर भट्टराईको माग छ ।